नवराज कार्की
ओखलढुंगा । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय ओखलढुंगाले भूकम्प र त्यसपछिको पुनर्निर्माणको पहिलो र दोस्रो चौमासिक समीक्षा गोष्ठी सम्पन्न गरेको छ । स्थानीय सरकार, सरोकारवाला सरकारी कार्यालय, संघसंस्थालयतको उपस्थितिमा गोष्ठी आयोजना गरिएको हो ।
पुनर्निर्माण प्राधिकरण ओखलढुंगाका आयोजना प्रमुख युवराज खरेलको अध्यक्षतामा भएको गोष्ठीमा जिल्ला समन्वय समितिका प्रमुख जयबहादुर श्रेष्ठ, मोहनकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी गणेश आचार्य, मोलुङ गाउँपालिका अध्यक्ष मणिराज राई, मानेभञ्ज्याङ गाउँपालिका अध्यक्ष मोतिराज राई, सुनकोसी गाउँपालिका अध्यक्ष रुद्र अधिकारीलगायत पुनर्निर्माणमा सहभागी सरोकारवालाहरुको उपस्थिति रहेको थियो । गोष्ठीमा आयोजना प्रमुख खरेलले ओखलढुंगा जिल्लामा हालसम्म निजी आवास पुनर्निर्माण ८२ प्रतिशत् सम्पन्न भएको बताए । गोष्ठीमा जिल्लाभित्र भुकम्पबाट क्षति पुगेर पहिचान भएका २० हजार ७ सय ८३ घरमध्ये ९६ प्रतिशत लाभग्राहीसँग निजी आवास पुननिर्माणका लागि सम्झौता भएको जानकारी दिइयो । यस्तै जिल्लामा निजी आवासका लागि पहिलो किस्ता पाउने लाभग्राही ९९ प्रतिशत्, दोस्रो किस्ता पाउने लाभग्राही ८७ प्रतिशत र तेस्रो किस्ता पाउने लाभग्राही ७९ प्रतिशत पुगेको छ । गोष्ठीमा पुनर्निर्माणसँग सम्बन्धित काम गरिरहेका जिल्ला आयोजना कार्यान्वय इकाई (शिक्षा), जिल्ला आयोजना कार्यान्वय इकाई (भवन), देम्बा सामुदायिक विकास केन्द्र, फोर्ड नेपाल, हेल्भेटास नेपाल, टीआई नेपाल, सहयोगी हातहरुको समूह (सहास) नेपाल, सयपत्री संस्थाले प्रगति प्रस्तुत गरेका थिए । स्थानीय सरकारका प्रमुखहरुले पुनर्निर्माण प्राधिकरणले १२ बुँदै सम्झौता गरेर स्थानीय तहलाई नै पुनर्निर्माणको जिम्मेवारी दिएपनि कागजी रुपमै सीमित भएको गुनासो गरेका थिए ।

तपाईको प्रतिक्रिया