सुन्दरहरैंचा, दाह्री ग्याङ सुन्दरहरैंचाले इटहरीकी अनिशा सापकोटाको उपचारका लागि सहयोग रकम हस्तान्तरण गरेको छ ।

सामाजिक सञ्जाल फेसबुकमा सकृय दाह्री ग्याङ समूहमा आवद्ध मोरङको सुन्दरहैंचाका युवाहरुले ४ दिनसम्म नगरका विभिन्न स्थानमा संकलन गरेको रकम काठमाडौंको केएमसी हस्पिटलमा लगेर विरामीका बाबुलाई हस्तान्तरण गरैका हुन् । सहयोग अभियानबाट संकलन भएको १ लाख १ हजार १ सय ११ रुपैयाँ रकम बराबरको चेक दाह्री ग्याङका सदस्यहरुले अस्पतालमै पुगेर विरामीका बाबु महेश्वर सापकोटालाई बुझाएका हुन् । दाह्री ग्याङ सुन्दरहरैंचाका त्रिवेणी पराजुली, रुपक चौधरी, दिवाकर रेग्मीसहितको टोलीले आफ्नै खर्चमा काठमाडौं पुगेर सहयोग हस्तान्तरण गरेको हो ।

रकम हस्तान्तरण गर्नुका साथै विरामीको अवस्था समेत बुझ्ने उद्देश्यले आफ्नै खर्चमा काठमाडौं गएर रकम हस्तान्तरण गरिएको दाह्री ग्याङका रुपक चौधरीले बताए । विरामीको अवस्थामा समेत निकै सुधार आइसकेकाले आफुहरुले दिएको सहयोगले विरामीको जीवन बचाउन मद्दत पुग्ने उनको भनाइ छ । सहयोग हस्तान्तरणको अवसरमा दाह्री ग्याङ काठमाडौं, भक्तपुर र पोखराका उमेश पराजुली, सुमेश दाहाल, प्रशान्त आचार्य, किरण कार्की, ज्ञानैन्द्र दाहाल, सुशील गौतम र बसन्त पहरको समेत सहभागिता रहेको थियो ।

विरामीका बाबुले छोरीको स्वास्थ्य अवस्थामा सुधार आउँदै गएको र एक हप्तासम्ममा डिस्चार्ज हुने जानकारी दिएका छन् । अनिशाको उपचारमा ९ लाख रुपयाँ खर्च भइसकेको उनको भनाइ छ । डिस्चार्ज भएपनि हरेक हप्ता फलोअपमा आउने पर्ने भएकालै अझै खर्च लाग्ने उनले बताए ।

दाह्री ग्याङ सुन्दरहरैंचाका केशब बास्तोलका अनुसार दाह्री ग्याङले विभिन्न सेवामुलक र समाज सुधारका क्षेत्रमा काम गर्दै अघि बढ्ने क्रममा ४ दिनसम्म अनिशा सापकोटा बचाऊ अभियान सञ्चालन गरि सहयोग संकलन गरेको थियो । अभियान अन्तरगत दाह्री ग्याङका युवाहरुले सुन्दरहरैंचाको तीनपैनी, बाँसबारी, बलिया, गोकर्ण रिसोर्ट, गोकुलम् रिसोर्ट, गछिया बजार र विरचाटचौक बजारमा पुगेर रकम संकलन गरेको बास्तोलाले जानकारी दिए ।

दाह्री ग्याङको अभियानमा क्विक भोलेन्टियरले समेत सघाएको थियो । अभियानमा दाह्री ग्याङ सुन्दरहरैंचाका त्रिवेणी पराजुली, रुपक चौधरी, केशव बास्तोला, रेवती निरौला, सुजन घिमिरे, प्रशान्त अधिकारी, भोजराज रिजाल, साइमन रेग्मी, दाह्री ब्रो, जयप्रकाश रायमाझी, दिवाकर अधिकारी, राजन निरौला र विराटनगरका सविन साइमन घिमिरेको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया