सुन्दरहरैचा, कोसीहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज चापागाईले ९०/१० का आधारमा नगरले योजना संचालन गर्नुपर्ने कुरामा जोड दिएका छन ।

कोसीहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेकपाका जिल्ला कमिटि सदस्य चापागाईले जनताको सहभागिता साझेदारीले गर्दा गत वर्ष कतिपय योजनाको सम्झौता समेत नभएकाले आउने आ.व.बाट ९० प्रतिशत नगरपालिकाको र उपभोक्ताको १० प्रतिशत लगानीमा योजना संचालन गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

उनले हिजोको दृष्टिकोण बाट नगर चलाउछु भनेर सोच्नै नहुने बताउदै हिजो १० करोड बजेट आउनेमा आज १ अर्व बजेट आउने भएकाले जनताको सहभागितालाई ९०/१० मा लगेर जनतालाई विकास निर्माणमा जोड्नु पर्ने धारणा राखेका हुन् । यस अधि नगरपालिकाले ६०/४० कायम गर्ने र उपभोक्तावाट काम हुन नसके पछि ठेक्का प्रकृयामा जाने भएकाले अल्पकालिन विकासको दृष्टिकोणबाट नगरपालिका संचालन भइरहेको बताएका छन् । ठेक्का प्रकृयाबाट भन्दा उपभोक्ता बाट काम गर्दा गुणस्तरमा बृद्धि भई धेरै वर्षसम्म संचालित योजना टिक्ने धारणा पनि व्यक्त गरेका थिए ।

उनले उद्योग वाणिज्य संघले नीजि क्षेत्रको प्रतिनिधित्व गर्ने भएकाले नगरपालिकाले नीजि क्षेत्रसंग कर लिने र बजेटमा यस क्षेत्रलाई कहिँ पनि सम्बोधन नगरेको गुनासो गरेका छन् । उनले योजना छनोटमा निजी क्षेत्रलाई कुनै पनि छलफल अन्तरक्रियामा नसमेटेको समेत बताउदै नगरको ध्यान विशेष गरी पुर्वाधार तर्फमात्र गएकाले पर्यटन, कृषि, शिक्षा, पशु, स्वास्थ्य, खानेपानी लगायत वृहत विकासमा लागेर हरियाली नगर विकासमा सबैले लाग्नुपर्ने बताएका छन् ।

आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट निर्माणको तयारीमा जुटेको नगरपालिकाको वडा नं. ९ ले आइतवार आयोजना गरेको टोलभेला कार्यक्रममा संचारकर्मीले सोधेको प्रश्नमा जवाफ दिदै सो कुरा बताएका हुन् । योजना छनोट टोलभेलामा जनतामा अन्यौलता देखिएकाले ब्रीफीङ गरेर गरेको भए वडा, नगर, प्रदेश र संघलाई पनि योजना छनौटमा सहजता हुने बताएका थिए

विगतमा जनप्रतिनिधि नहुदा संयन्त्रमा बसेर काम गर्दा योजना छनौट गर्दा अनुमानीत बजेट वरावरका योजना छनौट गरेर पास गरिएको र बाँकी रहेका वडा स्तरका, नगर स्तरका र केन्द्र स्तरका योजनाहरुलाई प्राथमिकतामा राखेर नगरको अनुमानित भन्दा बढी कर उठेको खण्डमा जनता बाट छानेका योजनाहरुलाई कार्यान्वयन गरिएको तर अहिले जनप्रतिनिधि आए पछिको अवस्थामा नगरले गोजीवाट योजना लगेर संचालन गरिरहेको आरोप समेत लगाएका छन् ।

उनले छनौट भएका योजना कितावमा राखेकालाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्नुपर्ने नगरपालिकालाई सुझाव समेत दिएका छन् ।

तपाईको प्रतिक्रिया