नेपालको ईतिहासमा राजसंस्थाको योगदान अतुलनीय र अविस्मरणीय रहेको छ । यो गौरवशाली ईतिहास हरेक विद्यालयका विद्यार्थीलाई पढाईनु पर्ने ईतिहास हो । भारतीयहरू मुगल र ब्रिटिश साम्राज्यसँग हारेका राजाको ईतिहास पनि सगौरव अध्ययन गरिरहेका छन् भने हामीसँग त विश्व साम्राज्यमाथि विजय प्राप्त गरेको तर हार्न नपरेको ईतिहास छ ।

यस्तो गौरवशाली ईतिहासको अध्ययनबाट भविष्यको पुस्तालाई वञ्चित गराउनुको खास मकसद के हो ? किन हाम्रो सन्ततिले नेपाल निर्माणको ईतिहासका नायक बारे जानकारी राख्न नपाएको ?

त्यसबेला श्री ५ पृथ्वीनारायण शाह नजन्मेको भए आज यो भुगोल स्वतन्त्र राज्यको रूपमा कायम रहने थिएन; पक्का कुरा हो । त्यसैगरी, पञ्चायतको समयमा पनि नेपालको भौतिक विकासले राम्रो फड्को मारेको थियो । राजनीतिको पाटोमा कति र कति गलत भनेर बहस गर्न सकिन्छ तर विकासको दृष्टिकोणबाट पञ्चायती व्यवस्थालाई नराम्रो भन्न मिल्ने ठाउँ छैन ।

राजाहरूको नेपाल निर्माण, नेपालका सीमानाको सुरक्षा तथा राष्ट्रियताको संरक्षणमा रहेको योगदान बिर्सेर एकदमै निमोर्ही ढंगले अगाडि बढ्न खोज्दा भोली आफ्नै ईतिहास मेटाउने व्यवस्था आउन सक्छ भनी सबैले हेक्का राख्नु जरूरी छ । राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्ने आँट हरेक व्यक्तिमा हुनुपर्छ ।

त्यसकारण, कसैले आफुलाई राजावादी हुँ भन्छ भने किन नाक खुम्च्याउने ? राजावादीप्रति नाक खुम्च्याउनु भनेको नेपालको वर्तमान अस्तित्व मन नपराउनु जस्तै हो । हरेकलाई आफुलाई मन परेको व्यवस्थाको वकालत गर्ने अधिकार छ । हरेकलाई आफुलाई मन नपरेको व्यवस्थाको आलोचना गर्ने छुट छ ।

तपाईको प्रतिक्रिया