पूर्वी पहाडी जिल्ला संखुवासभाको पुरानो सदरमुकाम चैनपुर बजारमा पुरातात्विक महत्वका वस्तु भेटिएका छन् । त्यहाँ ६ सय वर्ष पुरानो इँटा फेला परेको जनाइएको छ ।
चैनपुर नगरपालिका–६ मा भेटिएको त्यो इँटा मल्लकालीन समयमा उत्पादन भइ प्रयोगमा आएको दावी गरिएको छ । स्थानीय नारायण श्रेष्ठको घरको पिंढीमा प्रयोग भएको इँटा १४ औंँ शताब्दीभन्दा अघिको रहेको इतिहासविद् डा।रमेश ढुंगेलले दावी गरेपछि यो विषय बाहिर आएको छ ।
ढुङगेल अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विज्ञटोली सदस्य हुन् । ६०० सय वर्ष भन्दा पुरानो इँटा फेला पर्नु चानचुने कुरा होइन । यसले चैनपुरको इतिहासमा महत्वपूर्ण प्रमाण थपेको छ ।
फेला परेको इँटाको लम्बाइ १४ इन्च, चौडाइ ८ इन्च र मोटाइ २ इन्च रहेको छ । यसबारे पुरातत्व विभागमा लिखित जानकारी गराएपछि विभागका कर्मचारी आएर थप अनुसन्धान गर्ने छन् ।
चैनपुर बजारमा अझै पनि पुराना शैलीका घर प्रशस्त छन् । मल्लकालीन इँटा फेला परेकाले यस क्षेत्रको महत्व अझ बढेको चैनपुरका मेयर भरतकुमार खत्री बताउनु हुन्छ ।
चैनपुरमा मात्रै होइन, केही समयअघि भोटखोला गाउँपालिकाको हटिया र गोलामा समेत पुरानो हतियार फेला परेको थियो । संखुवासभाको किमाथाङ्का, हटिया, गोला, गढी बजार, खाँदबारी र चैनपुर लगायतका स्थानमा नेपाल एकीकरणको समयमा भोटसँग लडाइँ भएको र लडाकूहरुले हतियार लुकाएको, गढी बनाएको जस्ता थुप्रै खालका ऐतिहासिक महत्व बोकेको इतिहासविद्हरुको दावी गरेका छन् ।

तपाईको प्रतिक्रिया