इटहरी । विना सुचना आफ्नो स्कुलभित्र डोजर चलाएको भन्दै इटहरीको डीभीएम स्कुलले विरोध जनाएको छ ।

बुधबार विज्ञप्ती जारी गर्दै विद्यालय प्रशासनले विद्यालयभित्र प्रहरीसमेत ल्याइ डोजर चलाएको भन्दै खेद व्यक्त गरेको हो ।

उपमहानगरपालिकासँग वार्ता भई निश्कर्ष नजिक पुगेको अवस्थामा विना सुचना हुलहुज्जत गरेको भन्दै भत्र्सना गरेको छ । यस्तो कार्यले विद्यालय शान्ती क्षेत्र हो भन्ने भावना विपरीत कार्य भएको समेत विद्यालयले जनाएको छ । विद्यालय प्रशासनले जारी गरेको विज्ञप्तीमा उपमहानगरपालिकाको उक्त कदमलाई कायरतापूर्ण र बर्बरतापूर्ण कार्य भनेको छ ।

बुधबार बिहान मेयर द्वारिकलाल चौधरी प्रहरी र डोजरसहित डीभीएम स्कुल पुगेका थिए । डोजरले स्कुल भित्र बनाइएको बाटो भत्काइदिएको थियो भने बिहीबारदेखि अझ व्यवस्थित तरिकाले पार्क बनाउने काम सुरु गर्ने जनाएका थिए ।

लालपुर्जा विनाको जग्गामा बनाइएको डीभीएमको जग्गा नगरपालिका माताहत ल्याउन मेयर चौधरी सक्रिय छन् । नगरपालिकाले सो स्थानमा पार्क बनाउने घोषणा गरी शिलान्याससमेत गरिसकेको छ । आफूले ओगटेको जग्गा छाड्न स्कुललाई विभिन्न विकल्प दिएका उनले सो विषयमा छलफल चलिरहेकै समयमा डोजर लिएर पुगेका थिए ।

यता स्कुल प्रशासनले भने उक्त जग्गाको लालपुर्जा मात्र नबनेको बरु पैसा दिएरै खरीद गरी ४० वर्षदेखि उपयोग गर्दै आएको जनाउँदै आएको छ ।

तपाईको प्रतिक्रिया