सुनसरी/ प्राविधिकको सल्लाह बिना जथाभावी खेतबारीमा रसायनिक मलको प्रयोग गर्नाले पुर्वको माटोको उर्वराशक्तिमा ह्रास हुदै आएको छ ।
उत्पादनका हिसाबले पकेट क्षेत्र मानिएको तराईका सुनसरी, मोरङ, झापा, सिराहा र सप्तरी लगायतका जिल्लाहरुमा अम्लीय माटो प्रत्येक वर्ष बढ्दै गएको छ । पुर्वको माटोमा अम्लीयपन रहेको र प्रांगारिक पदार्थ पनि कम हुदै गएका कारण उत्पादन न्यून हुन थालेको हो । झुम्कास्थित क्षेत्रीय माटो परिक्षण कार्यालयले पूर्वका १४ जिल्लाका माटोको परिक्षण गरी त्यसको गुणस्तरीयता जाँच गर्दा , प्रदेश १ भरी नै माटोमा अम्लीयपना भएकाले उत्पादन क्षमता गुमाउँदै गएको छ । क्षेत्रीय माटो प्रयोगशालाले दिएको तथ्यांक अनुसार अहिले कम्पोष्ट मलको प्रयोग घट्दै गएर रसायनिक मलमा मात्र किसानहरु भर पर्नाले प्रदेश १ भरी नै माटोले उत्पादन क्षमता गुमाउँदै गएको हो ।
माटोमा अत्याधिक मात्रामा रसायनिक पदार्थको प्रयोगले अम्लियपन हुने माटो विज्ञहरु बताउछन । माटोमा पिएच, नाइट्रोजन, फस्पोरस, पोटास, लगायत १६ पदार्थ रहेका हुन्छन । यी पदार्थ माटोमा सन्तुलित रहेनन् भने माटोको उर्वरा शक्ती नास भै माटो मरभूमिमा परिणत हुने गर्दछ । उत्पादनमा कमी आएपछी किसानहरु पनी चिन्तीत हुन थालेका छन । उत्पादन घट्दै गएको र त्यही घटेकै कारण माटोको उत्पादकतत्वमा कमी आई बढी मल प्रयोग गर्दा मात्र उत्पादन हुन सक्ने अवस्था आएको छ ।
उत्पादन कम भएपछि कृषकहरुले बढी उत्पादन लिनका लागि अझ बढी रसायनिक मलहरु प्रयोग बढाउदै लगेका छन् । माटोको अम्लीयपन हटाउन र माटोमा प्राङ्गारिक पदार्थको बृद्धि गर्नका लागि कृषि चुर्णको प्रयोग गर्नुपर्ने र यसका लागि माटो परिक्षण गरी माटोको अवस्था अनुसार त्यसको उपचार गर्न माटो परिक्षण केन्द्रले सुझाव दिएको छ ।

तपाईको प्रतिक्रिया