उद्योग वाणिज्य संघ इटहरीको चुनाव आउन अब २ महिना पनि बाँकी छैन । चुनावको मिति नजिकिएसँगै चुनावी चहल–पहल बढ्दै गएको छ । हिजोआज बैशाखे झरीका कारण मौसम चिसिएपनि इटहरीमा भने उद्योग वाणिज्य संघको चुनावी गर्मी बढ्दो छ । उद्योग वाणिज्य संघ इटहरीको चुनावकै सन्दर्भमा अध्यक्षको उम्मेदवारका एक प्रत्याशी, भीमबहादुर पौडेलसँग हामीले कुराकानी गरेका छौं ।

उद्योग वाणिज्य संघ इटहरीको अध्यक्ष बन्ने तयारीमा हुनुहुन्छ । किन अध्यक्ष बन्ने चाहाना जाग्यो ?
म १७÷१८ वर्षको उमेरदेखि व्यवसाय सुरु गरेको मान्छे हुँ । इटहरीमा २५ वर्षदेखि रहेर व्यवसाय गरिरहेको छु । यो अवधिमा मैले विभिन्न व्यवसायको अनुभव लिएको छु । मेरो यहि अनुभवलाई इटहरीका व्यवसायी माझ व्यवसायीका समस्या समाधानमा लाग्ने उद्देश्यका साथ अध्यक्ष बन्ने तयारीमा छु ।
पछिल्लोपटक भएका राजनीतिक चुनावहरु हेर्ने हो भने इटहरी क्षेत्रमा नेकपाको अवस्था अलिक राम्रो देखिन्छ नी यस्तो अवस्थामा चुनाव जित्न गाह्रो पर्दैन ?
यो कुनै राजनीतिक चुनाव होइन । यहाँ कुनै पर्टी हेरिंदैन । काम गर्ने खालको अनुभवि मान्छे हेरिन्छ । राजनीतिलाई नै सबै कुरा मानेका व्यक्तिले हेर्लान् तर इटहरीका व्यापारीले दलको झण्डा हेरेर भोट हाल्नेवाला छैनन् । काम गर्ने र व्यवसाय के हो भन्ने कुरा बुझेको नेतुत्वलाई आफ्नो अमुल्य मत प्रदान गर्नेछन ।
त्यसो भए दलको झण्डा नहेर्दा इटहरीका व्यापारीले तपाईंलाई नै भोट हाल्छन् भन्ने के ग्यारेन्टी ?
इटहरीका व्यापारी धेरै पहिलेदेखि समस्यामा छन् । पटक–पटक विभिन्न व्यक्तिहरुलाई जिताएका छन् । तरपनि समस्या समाधान हुन सकिरहेको छैन । अब व्यवसायी मित्रहरुले गफ गर्ने भन्दा पनि व्यवसायको हितमा काम गर्न सक्ने र अनुभवि व्यक्तिलाई रोज्नेछन् । अनि फेरि हरेक चुनावमा जनताले परिवर्तन चाहिरहेका हुन्छन् । यसपटकको समितिले व्यापारिको हितका खासै केही काम गर्न नसकेकाले पनि व्यवसाय हरुले विकल्प खोज्नेछन् ।

समितिले केही काम गरेन भन्नुभयो । तपाईंले चहिं व्यक्तिगत रुपमा व्यापारीका लागि के गर्नु भएको छ ? तपाईंलाई नै किन भोट हाल्ने ?
धेरै काम गरेको छु । व्यवसायीलाई जस्तो सुकै समस्या पर्दा सुख–दुःखमा साथ दिएको छु । कुनै भवितव्य, बाढी, आगलागी हुँदा पुगेको छु, मैले गर्न सक्ने सहयोग गरेको छु । साथै आन्तरिक राजश्व कार्यालयको कुरा भयो । मारवाडी दम्पती हत्याको केश लगायतका सारा कुरामा प्रत्यक्ष सहभागी भएर सहयोग गरेको छु । जसलाई इटहरीका व्यवसायीले सम्झिनु भएको छ । मैले गरेका सामाजिक काम कै कुरा गर्नु हुन्छ भने त मैले ५० रुपैयाँ कमाए भने ३० रुपैयाँ सामाजिक काममा लगाउँछु ।

अब तपाईंले चुनाव जित्नु भयो भने चाहिं के गर्नुहुन्छ ? के के योजना बनाउनु भएको छ ?

हामी सुरुमा विज्ञ समूह बनाउँछौं । विज्ञ समूह बनाएर व्यवसायीका समस्या के–के छन् भनेर पहिचान गरि समाधानमा लाग्ने छौं । घरबहाल कर व्यवसायीले तिर्ने अहिलेको अवस्था अन्त्य गर्न र घरबहालको नचाहिंदो बृद्धि रोक्न उपमहानगरपालिका सँग र सरोकारवाला निकाय सँग
सहकार्य गरेर अघि बढ्ने छौं । इटहरीमा सम्भावना भएका भिभिन्न व्यवसाय हरु पहीचान गरी उत्पादन र बजारीकण गर्न उधोगीहरुलाई आवश्यक तालीम दिन योजना छ । यहाँ इच्छाहरु जागृत हुनु नराम्रो कुरो होइन । कुनैपनि संस्थामा पुग्नलाई धैर्य र स्वयंमता चाहिन्छ । परिस्थिती बुझेर अगाडी बढ्न सक्ने हुनुपर्छ । कार्ययोजना, सामुहिक कार्य गर्ने सोंच र प्रतिवद्ध हुन आवस्यक छ । नयाँ सोंच र नयाँ कार्य्दिशाको साथ अघि बढ्दै पूर्वध्यक्ष, उद्योगी व्यवसायी वस्तुगत संघसंस्था हरुको सल्लाह र सहकार्यमा अगाडी बढ्नेछु । चाँडै नै सम्पूर्ण उद्योगी, व्यापारी मित्रहरु माझ सम्पूर्ण कार्ययोजनाहरु विस्तृत रुपमा प्रस्तुत गर्नेछु र त्यसलाई पूरा गर्न म प्रतिवद्ध छु ।

 

तपाईको प्रतिक्रिया