एक युवक काम खोज्ने सिलसिलामा एउटा कम्पनीमा पुगे । प्रारम्भिक परीक्षा र अन्तरर्वार्ता सफलतापूर्वक पास गरेपछि निणार्यक अन्तवार्ताका लागि उनलाई कम्पनी डाइरेक्टरकहाँ पठाइयो ।डाइरेक्टरले उनको वायोडाटा हेरे । उत्कृष्ट थियो । उनले सोधे, स्कूल कलेजमा तपाईले कुनै छात्रवृत्ति पाउनुभएको थियो ?
युवकले जवाफ दिए- थिएन ।त्यसोभए तपाईका बुबाले तपाईको पढाइको खर्च आफैं बेहोर्नुभयो ।
हो सर ।

बुबा कहाँ काम गर्नुहुन्छ नि ?
मेरो बुबा त विश्वकर्मा हो सर । वहाँको आफ्नै आरन छ, त्यहीँ काम गर्नुहुन्छ ।डाइरेक्टरले युवकलाई आफ्नो हात देखाउन भने । युवकले दुबै हात डाइरेक्टरको टेबलमाथि राखेर हत्केला देखाए । हात सुन्दर, नरम र सुकिला थिए ।तपाईले बुबाको काममा सघाउने गर्नुभएको छ ?छैन । वहाँ मलाई सधैं धेरै पढ मात्र भन्नुहुन्छ । फेरि बुबाको काम म जान्दिनँ पनि । वहाँ नै म भन्दा राम्रो काम गर्नुहुन्छ ।

डाइरेक्टरले भने- म आज तपाईलाई एउटा काम दिन्छु गर्नुहुन्छ ?
जागिरको आशमा रहेका युवकले एकै सासमा भने- गर्छु सर ।
तपाई आज घर जानुस् र बेलुका तपाईका बुबा कामबाट फर्किएपछि वहाँको हात राम्ररी धोइदिनु र भोलि मलाई भेट्नू ।
युवकले आफ्नो काम बन्ने सम्भावना बढेको महसुस गरे । डाइरेक्टरको भनाइलाई उनले ठूलो मौका ठाने ।

उनी घरतिर हुत्तिए र बुवालाई पर्खेर बसे । जब बुवा घर आए, तब उनले बुबासँग हात धोइदिन मागे । बुवा छक्क परे । अक्मकाए । अनि केही

असहज मान्दै आफ्ना दुबै हात छोराका अगाडि राखिदिए ।
युवकले हात धुन थाले । तर, बुबाका हात हेर्ने वित्तिकै युवक नराम्ररी झस्किए । जीवनमा पहिलो पटक उनले आफ्ना बाबुका हात आफ्नै हातमा लिएर हेरेका थिए । दुबै हातहरु दाउरो जस्तै खस्रा र चाउरी परेका, औंलै पिच्छे साह्रा ठेलाहरु । ठाउँठाउँमा पटपट फुटेर घाउ बनेका । बर्षौंदेखिको कटकटिएका काला दागहरु भित्रसम्म पुगेका । यी हातहरु समाउँदैमा छोराका आँखा रसाए ।
युवकले पहिलोचोटि अनुभव गरे, यी हातहरुले हरेक दिन उनको पढाइको खर्च पुर्याउन बषौर्ंदेखि कति कडा काम गरेका थिए । हातका ती एकएक ठेलाहरु उनको स्कूलको शिक्षा र भविश्यको निम्ति तिरेका मूल्य थिए ।

युवकले आफ्नो मन मस्तिष्कका सयौँ पर्दाहरु एकैचोटि खुलेको अनुभव गरे । उसले निकैबेर लगाएर हात धोए र रुमालले पुछिदिए । क्रिम लगाइदिए । हात धोइसकेपछि युवक केहीबेर जिल्लिए । अवाक भए ।

फेरि उनी बाबुको आरन हेर्न गए । त्यहाँ जतातजै धुलो र मैलो थियो । उनले हुनेसम्मको आरनको सफाइ र व्यवस्थापन गरे । उनले त्यहाँका घन, सनासो, र सबै ज्यावललाई सफा गरे । आदरपूर्वक लिएर चुमे ।

त्यो रात बाबु र छोरा निकै अबेरसम्म लामो कुरा गरिरहे । बाबुले पहिलोपटक छोरालाई आफ्ना जीवनका दुःखसुखका अनुभवहरु सुनाए ।

भोलिपल्ट बिहान ठीक समयमा युवक डाइरेक्टरको अफिसमा पुगे । डाइरेक्टरले युवकलाई नियालेर हेरे । युवकका आँखामा आँसु र अनुहारमा थोरै लज्जा थियो । केही सन्तोषको भाव पनि थियो ।
डाइरेक्टरले सोधे- के तपाई मलाई भन्न सक्नुहुन्छ ? हिजो तपाईले घर गएर के गर्नुभयो र के शिक्षा पाउनुभयो ?

युवकले भने, मैले हिजो बुबाका हात धोएँ । त्यसपछि वहाँको आरनमा गएर सफाइ गरेँ । मैले जीवनको मूल शिक्षा हिजै पाएँ सर । मलाई थाहा भो, मेरा बुबाले त्योबेला यसरी मेहनत नगर्नुभएको भए, मलाई परिवारको साथ र सहयोग नभएको भए म आज जे छु, त्यो हुन सक्दिनथें । अहिले मलाई महसुस भैरहेछ, मैले मेरा बुवाको मेहनतको जति प्रशंसा गरे पनि कमै हुनेछ । म वहाँको परिश्रमलाई आदर नगरी रहन सक्दिनँ । मेरा बुवा महान हुनुहुन्छ ।

डाइरेक्टरले भने- हो, म मेरा स्टाफहरुमा त्यही गुण खेजिरहेको छु । म त्यस्ता व्यक्तिहरु मन पराउँछु, जसले अरुको सहयोगको प्रशंसा गरोस्, त्यस्ता व्यक्ति, जसले अरुको दुःख र सहयोगलाई चिन्न सकोस् । खाली पैसाको पछिमात्रै नकुदोस् ।

डाइरेक्टरले युवकलाई भने- ल लिनुस् तपाईको नियुक्ति पत्र । तपाई आजैदेखि काम सुरु गर्नुस् ।
हुर्कँदा केटाकेटीलाई जब पुलपुल्याइन्छ र आवश्यकता भन्दा बढी माया दिइन्छ, तब उ हरेक कुरालाई यो मेरो अधिकार हो भन्ने ठान्दछ र बाबुआमाको दुःखलाई कुनै महत्व दिँदैन । केटाकेटीलाई यस्तो मायाले सपार्ने भन्दा बिगार्ने नै बढी हुन्छ ।

त्यसैले बाबुआमाहरु, तपाईहरु आफ्ना सन्तानलाई सुख सुविधा त दिनुहोस् साथै आफूसँगै काम गर्न पनि लगाउनुहोस् र तालिम प्राप्त बनाउनुहोस् । यो नै सही माया हो

तपाईको प्रतिक्रिया