उद्योग वाणिज्य संघ इटहरीको चुनाव आउन अझै करिव २ महिना जति बाँकी छ । चुनाव आउन यतिका समय बाँकी रहेपनि इटहरीमा बैशाखे गर्मी सँग–सँगै उद्योग वाणिज्य संघको चुनावी गर्मी पनि सुरु भएको छ । सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यममा आ–आफ्ना लबीका उम्मेदवारहरुको चर्चा–परिचर्चा हुन थालेको छ । उम्मेदवारका आकांक्षीहरुले भित्रभित्रै जोड–घटाउ र लविङ सुरु गरेका छन् ।
उद्योग वाणिज्य संघ इटहरीको चुनावकै सन्दर्भमा अध्यक्षको उम्मेदवारका एक प्रत्याशी, हालका कार्यबाहक अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष शैलेस विष्टसँग हामीले कुराकानी गरेका छौं ।

चुनाव नजिकिंदै छ । अध्यक्षको प्रत्यासी हुनुहुन्छ । तयारी कस्तो छ ?
असार–१२ गते साधारणसभा हुँदैछ । १४ गतेलाई चुनावको मिति तोकेका छौं । अझै समय छ, चुनावको त्यस्तो माहोल तातिएको छैन । हामीसँग अहिले २ वटा जिम्मेवारी भएकाले चुनावमा त्यति होमिएका छैनौं । खासगरी हालको कार्यवाहक अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष भएकाले संघको दैनिक काम अघि बढाउने तथा साधारणसभा तथा निर्वाचनको व्यवस्थापन गर्ने काम एकातिर छ भने अध्यक्षको उम्मेदवारको आकांक्षी भएर गर्ने काम अर्का तिर छ । तर अझै समय बाँकी रहेकाले चुनावी जोड–घटाउलाई मैले त्यति समय दिएको छ्रैन ।
भनेपछि चुनावको त्यस्तो कुनै तयारी थाल्नु भएको छैन ?
छैन–छैन । उम्मेदवारको हिसावले भन्दा पनि हालको कार्यवहाक अध्यक्षको हिसावले हालको कार्यकालमा हामीले गरेका महत्वपूर्ण कामको सूची तयार गर्दैछौं । अनि साधारणसभालाई लक्षित गरेर विभिन्न सचेतनामुलक कार्यक्रम गरिरहेका छौं । जेठ १० गते भित्र नविकरण गर्नेले मात्र मताधिकार पाउने, दर्ता गर्न बाँकी रहेका व्यवसायीले पनि स्वयम् उपस्थित भएर दर्ता गर्नुहोला भनेर व्यपारीहरुलाई सूचित गर्ने काम भइरहेको छ ।
पटक–पटक उद्योग वाणिज्य संघको पदाधिकारी बन्नुभयो । यसपटक त वरिष्ठ उपाध्यक्ष हुँदै कार्यबहाक अध्यक्षको जिम्मेवारी पनि लिनुभयो । अब अध्यक्षको कुर्सी अरुलाई नै छाडे हुन्न ?
मेरो जन्मस्थान इटहरी नै, ९ वर्षदेखि बाणिज्य संघमा छु । अब वरिष्ठ उपाध्यक्ष भइसकेपछि की संघ छोडेर जानुप¥यो, कि नेतृत्व लिनुप¥यो । यतिका दुःख गरेको सँस्था छाडेर जान सकिन, अब चाहीं म सक्षम भएँ नेतृत्व हाँक्न सक्छु भनेर अघि बढेको हुँ । जसमा साथीहरुले पनि साथ दिनुभयो ।
कतिको पत्याउलान् त इटहरीका व्यवसायी साथीहरुले ?
म इटहरीका ९० प्रतिशत व्यापारीसँग प्रत्यक्ष जोडिएको छु । संघको चुनावमा मात्र होइन अन्य बेला पनि प्रत्यक्ष जोडिएको छु । मलाई यो चुनाव जित्न त्यती गाह्रो लागेको छैन । हालसम्म पदमा बसेर पनि नबसेर पनि इटहरीमा यो मान्छेले केही गरेको छ र गर्न सक्छ भन्नेमा सबै व्यवसायी ढुक्क हुनुहुन्छ भन्ने लाग्छ ।
हालसम्म पटक–पटक पदमा पुग्दा व्यापारीको हितमा के गर्नुभयो ?
मैले पहिलो पटक निर्वाचन लड्दा मलाई व्यवसायीले अत्यधिक मत, सबै भन्दा बढी मतले जिताउनु भयो । लु पहिलो पटक त साथीहरुले बुझ्नु भएन होला भनौं, फेरी दोश्रो पटक पनि मेरो काम देखेर नै होला साथीहरुले सबैभन्दा बढी मतले नै जिताउनु भयो । यसपटक पनि मैले सबैभन्दा बढी मत पाएँ । मलाई झन् उर्जा भयो, मैले व्यवसायीको हितमा केही गर्नैपर्छ भन्ने भयो । दुवैपटक मैले सदस्य मै रहेर भएपनि काम गरेर देखाएँ । यसपटक पनि सर्वाधिक मत पाएँ, अध्यक्ष निलम बस्नेतले मेरो काम हेरेर, मेरो महत्व बुझेर मलाई विश्वास गर्नुभयो, वरिष्ठ उपाध्यक्ष बनाउनु भयो । उहाँ माननीय हुनुभयो र म कार्यवहाक अध्यक्ष छु ।
त्यही त ठ्याक्कै भन्नुहोस् न तपाई पटक–पटक पदमा पुग्नुभयो व्यवसायीका लागि चाहिं के गर्नुभयो ?
ठिक छ म भन्दै छु । उद्योग वाणिज्य संघको भवन ९ वर्ष अघि शिलान्यास भएर त्यसै रहिरहेको थियो । हामीले ३ वर्ष भित्र भवनलाई पूर्णता दियौं । त्यसैगरि हामीले इटहरी, खनार, तरहरा, पकली लगायतका ठाउँमा गरि ६० वटा सोलार जडान गर्यौं । यस्तै नाइटभिजन सहितको ८ वटा सीसी क्यामेरा जडान गरिसकेका छौं । व्यवसायीको सजिलोका लागि आन्तरिक राजश्व कार्यालय इटहरीमा निःशुल्क हेल्पडेस्क राखेका छौं । विगतमा आएको बाढीका क्रममा उद्धार गर्ने राहत वितरण गर्ने कार्य अग्रपंक्तिमा रहेर ग¥र्यौं । प्रदेशको राजधानी इटहरी हुनुपर्छ भनेर लविङ र नेतृत्व ग¥र्यौं । यस्तै खनारस्थित रिलायन्स स्पिनिङ मिलको उत्पतिको प्रमाण पत्र धरानबाट जारी गरिन्थ्यो अब यसपटदेखि इटहरीबाटै हुन्छ । जसबाट संघलाई बार्षिक १०÷१२ लाख आम्दानी हुन्छ ।
अर्को महत्वपूर्ण काम भनेको इटहरी उपमहानगरपालिकाको आर्थिक विधेयक २०७५ को संशोधन हो । जसमा व्यवसायको कर निर्धारण गरिएको छ । त्यसमा केही कुरा मिलेका थिएनन् । साना व्यवसायीलाई समस्या पर्ने खालका दर थिए । उद्योग बाणिज्य संघको पहलमा एक महिनासम्म लागेर साना व्यवसायीलाई थोरै कर र ठूला व्यवसायीलाई सोही अनुसारको मझौला कर तिर्नुपर्ने व्यवस्था भएको छ । यसैगरि घर बहाल कर व्यवासायीले तिर्ने होइन भनेर व्यवसायीले व्यवसाय नविकरण गर्दा घरबाहल कर अनिवार्य गराउने बाध्यकारी व्यवस्थाबाट छुट गराएका छौं । अब व्यवसायको कर तिर्न जाँदा व्यवसायीले घरबाहल कर तिर्नु पर्दैन । घरवालाले तिर्छ । यस्तै नयाँ व्यवसाय दर्ता पुरै निःशुल्क गराएका छौं । यसैगरि विभिन्न व्यापारीका ठूला–ठूला समस्या समाधान गरेका छौं । हामीले कुनै पनि व्यवसायीले फोन गरेको अवस्थामा ५ मिनेट भित्र पुगेर समस्या समाधान गर्ने गरेका छौं । त्यस्तै व्यवसायको प्रवर्धनका लागि रोजगार मेला र उद्यमी महिलाहरुको प्रदर्शन लागयतका कार्यक्रम गरेका छौं । यस्तै हाम्रै पहलमा ५० जना जति उद्यमी महिलाहरुले विना धितो ऋण लिने व्यवस्था मिलाएका छौं ।
निकै काम गर्नु भएछ, भनेपछि इटहरीका व्यवसायीका समस्या चाहिं के बाँकी छन् त अब ?
समस्या त अझै थुप्रै छन् नी ।
के–के समस्या छन् र ती समस्या समाधानका लागि के कस्तो कार्य योजना छ ?
इटहरीमा खड्किएको भनको पार्किङ व्यवस्थापन गर्न बाँकी छ । सबै व्यवसायीक प्रतिष्ठानमा डस्बिनको व्यवस्था गर्ने योजना छ । यस्तै व्यवसायीका लागि अत्यन्त महत्वपूर्ण एकाउन्टिङ सिस्टम भएकाले अडिटरहरुलाई बोलाएर व्यवसायीकै ठाउँमा पुगेर तालिम दिने योजना छ । यसैगरि हामीले व्यवसायीको हकहितका लागि एक्स्पो लगाउन जरुरी छ । जुन यसपटकको कार्यकालमा गर्न सकिएन । अब हामी निर्वाचित भएर गएपछि हामी सुरुमा वार्षिक क्यालेन्डर बनाउने छौं । अनी हामीलाई व्यवासयीले नै यो काम किन गरिएन भनेर प्रश्न गर्नेछन् । यस्तै इटहरीमा सार्वजनिक शौचालयको अभाव रहेकाले त्यो काम समेत बाँकी छ ।
हामीले माथि घर बहाल करको कुरा गर्यौं । खासगरी इटहरीमा घर धनिहरुले बर्षेनी कानुन विपरित घरबहाल बढाउने गरेको गुनासो आउने गरेको छ नी ?
सबैले यसरी बढाएका छैनन् । तर जहाँ बढाउने गरिएको छ । यसमा चाहिं हामीले केही योजना बनाएका छौं । सुरुमा घरबहाल सम्झौता गर्दाको समयमा नै हामी प्रत्यक्ष संलग्न भएर रोहबरमा बस्छौं । जसअनुसार सम्झौतामा प्रत्येक २ वर्षमा १० प्रतिशतको दरले बहाल कर बढाउन पाउने र सो बहालकर घरवालाले तिर्ने भन्ने उल्लेख गराउने छौं ।
संघका पदाधिकारीहरुले अन्य बेला वास्ता गर्दैनन् चुनावको बेला मात्र मिठा–मिठा कुरा गर्छन् भन्ने आरोप लाग्छ नी ?
सही कुरा हो । तर मेरो हकमा त्यो लागु हुँदैन । मेरो स्वभावले नै त्यो गर्न दिंदैन । जुन व्यवसायीले समस्या पर्दा सम्झनु भएको छ, अहिलेसम्म हामीले कसैलाई खाली हात पठाएका छैनौं । हामी प्रत्येक दिन इलाका प्रहरी कार्यालय पुगेका हुन्छौं । वडा कार्यालय, उपमहानगरपालिका पुगेका हुन्छौं । त्यसैले व्यवसायी साथीहरुले अबको नेतृत्व चयन गर्दा कसले चाहिं बढी समय दिनसक्छ, कोसँग क्षमता छ भन्ने पनि बिचार गर्न जरुरी छ ।
चुनावमा निकै पैसा खर्च गर्छन् नी ? कति जति खर्च गर्ने योजना छ ?
पैसा खर्च गरेर चुनाव जित्ने पक्षमा म छँदै–छैन । यसअघि पनि पैशा खर्च गरेर जितेको होइन । व्यवासयीले समय दिन सक्ने, काम गर्न सक्ने, यसअघि गरेका काम हेरेर भोट हाल्ने हो नी । फेरी हाम्रो टिम नै यस्तो छ की हामीले पैसा खर्च गर्न जरुरी पनि छैन ।
भनेपछि एक पैसा पनि खर्च गर्नुहुन्न त ?
त्यस्तो त होइन, प्रचार–प्रसार खर्च, खाजा–नास्ता खर्च आदि त भइ हाल्छ नी ।
टीम राम्रो छ, पैसा खर्चै गर्न पर्दैन भन्नुभयो । तपाईं अध्यक्ष पदको आकांक्षी हुनुहुन्छ । तपाईंको टीममा को–को हुनुहुन्छ ?
उद्योगतर्फ राजेन्द्र केसरी घिमिरे, राजन भेटवाल, किसन केडिया, बज्र सुरज आङदेम्बे, महिलातर्फ रञ्जु सिग्देल चौलागाई र पुनम थापामगर हुनुहुन्छ । यसैगरि बाणिज्यतर्फ टंकप्रसाद खनाल, कमल पौडेल, राजेश खनाल, माधब न्यौपाने, लक्ष्मीप्रसाद धिताल, रितेश श्रेष्ठ, देवराज मादेन, फणिद्र थापामगर, भोला निरौला, उमेश दाहाल, सुदीप घिमिरे र सुरेश कार्की हुनुहुन्छ ।
फेरि उहाँहरु पनि विभिन्न संघ–संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएकाहरु हुनुहुन्छ । टंकप्रसाद खनाल वर्तमान महासचिव, राजेन्द्र केसरी घिमिरे वर्तमान उद्योग सचिव, उमेश दाहाल वर्तमान सचिव, कमल पौडेल, कोषध्यक्ष तथा रञ्जु सिग्देल चौलागाई र सुरेश कार्की वर्तमान सदस्य हुनुहुन्छ ।
यस्तै हामीले व्यक्ति भन्दा पनि विभिन्न बस्तुगत संघबाट प्रतिनिधित्व हुनेगरि उम्मेदवार छानेका छौं । हार्डवेयरको अध्यक्ष, किरानाको अध्यक्ष, इलेक्ट्रिक व्यवसायीको संस्थापक अध्यक्ष, अटोको अध्यक्ष गरेर सबै क्षेत्रबाट समेटेका छौं ।

तपाईको प्रतिक्रिया