काठमाडाैँ । च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेग अन्तर्गत आज इंग्लिस क्लब लिभरपुलले स्पेनिस क्लब बार्सिलोनाको समाना गर्दैछ । बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा हुने खेल नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ ।

 

घरेलु लिग

 

बार्सिलोना

बार्सिलोनाले स्पेनिस घरेलु लिग ला लिगाको उपाधि जितिसकेको छ । बार्सिलोनाले लिगको तीन खेलअघि नै उपाधि जितेको हो । लिगको ३५ खेल सकिँदा बार्सिलोनाको ८३ अंक छ भने दोस्रो स्थानको एट्लेटिको मड्रिडको ७४ अंक छ ।

 

लिभरपुल

घरेलु लिग प्रिमियर लिगको उपाधि होडमा रहेको लिभरपुलले बाँकी दुवै खेल जितेर मात्रै पुग्दैन । शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटी एक अंकले अघि रहेको अवस्थामा लिभरपुल सिटीको नतिजामा भर पर्नुपर्ने हुन्छ । लिभरपुलले ३६ खेल खेल्दा ९१ अंक जोडेको छ भने शीर्ष स्थानमा रहेको सिटीको ९२ अंक छ ।

 

जारी च्याम्पियन्स लिगको प्रदर्शन

 

बार्सिलोना

 

च्याम्पियन्स लिगको समूह ‘बी’मा रहेको बार्सिलोनाले कुनै पनि खेलमा हार नब्यहोरिकन कूल १४ अंक जोडर समूह विजेता बन्यो । बार्सिलोनाले अन्तिम १६ मा फ्रान्सेली क्लब लियोनलाई समग्रमा ५–१ गोलले पराजित गरेर क्वाटरफाइनलमा स्थान बनाएको हो । त्यसपछि इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडलाई समग्रमा ४–० गोलले पराजित गरेर सेमिफाइनलमा स्थान बनाएर लिभरपुलसँगको भेट पक्का गरेको हो ।

 

लिभरपुल

समूह चरणमा लिभरपुल समूह ‘सी’को उपविजेता बनेको हो । लिभरपुलले अन्तिम १६ मा बार्यन म्युनिखलाई समग्रमा ३–१ गोलले पराजित गरेर क्वाटरफाइनलमा स्थान बनायो । त्यस्तै क्वाटफाइनलमा पोर्तोलाई समग्रमा ६–१ गोलले पराजित गरेर बार्सिलोनासँगको भेट पक्का गरेको हो ।

 

 

हेड टु हेड

बार्सिलोना र लिभरपुलबीच भएको पछिल्लो ८ भिडन्तमा बार्सिलोनाले दुई खेलमा जित हासिल गरेको छ भने लिभरपुलले तीन खेलमा तथा तीन खेल बराबरीमा सकिएको छ । उक्त खेलमा बार्सिलोना तथा लिभरपुलले छ–छ गोल गरेका छन् ।

 

पछिल्लो पाँच खेल

 

बार्सिलोना

बार्सिलोनाले पछिल्लो पाँच खेलमध्ये ४ खेलमा जित तथा १ खेलमा बराबरी खेलेको छ । बार्सिलोनाले लेभान्टेविरुद्ध १–० गोलको जित, आलाभेसविरुद्ध २–० गोलको जित, रियल सोसिडाडविरुद्ध २–१ गोलको जित तथा म्यान्चेस्टर युनाइटेडविरुद्ध ३–० गोलको जित हासिल गरेको हो भने ह्वेस्काविरुद्ध गोलरहित बराबरी खेलेको थियो ।

 

लिभरपुल

 

लिभरपुलले पछिल्लो पाँच खेलमा शतप्रतिशत जित निकालेको छ । लिभरपुलले हडर्सफिल्डविरुद्ध ५–० गोल, कार्डिफविरुद्ध २–० गोल, पोर्तोविरुद्ध ४–१ गोल, चेल्सीविरुद्ध २–० गोल तथा पोर्तोविरुद्ध २–० गोलको जित दर्ता गरेको हो ।

 

प्लेयर्स टु  वाच

 

लियोनल मेसी (बार्सिलोना)

बार्सिलोनाका मुख्य हतियार लियोनल मेसी हुन् । मेसीले जारी सिजनको ला लिगामा कूल ३४ गोल गरिसकेका छन् भने १३ एसिस्ट गरेर उच्च एसिस्टकर्ता पनि बनेका छन् । मेसीले जारी च्याम्पियन्स लिगमा कूल १० गोल गरिसकेका छन् ।

 

त्यस्तै, बार्सिलोनाकै लुइस स्वारेज पनि घरेलु लिगको उच्च गोलकर्ताको सूचीमा छन् । उनले जारी सिजनको घरेलु लिगमा २१ गोल गरिसकेका छन् । मेसी र स्वारेजको जोडी जारी सिजनमा निकै जमेको छ ।

 

मोहम्मद सलाह (लिभरपुल)

लिभरपुलका मुख्य खेलाडीहरुमा मोहम्मद सलाह तथा साडियो माने रहेका छन् । यी दुई खेलाडीले घरेलु लिगमा क्रमशः २१ गोल तथा २० गोल गरेका छन् ।

 

प्रशिक्षक

अर्नेष्टो भालभर्दे (बार्सिलोना)

प्रशिक्षक भालभर्देले लिभरपुल बलियो टिम भए पनि घरेलु मैदानमा जित निकालेर दोस्रो लेगको लागि खेल सहज बनाउने बताएका छन् ।

लिभरपुल कठिन टिम हो तर, हामी घरेलु मैदानमा जित्न चाहान्छौंः भालभर्दे 

 

युर्गेन क्लोप (लिभरपुल)

क्लोपले भने क्याम्प नाउ फुटबलको मन्दिर नभएको भन्दै आफ्ना खेलाडीहरु बार्सिलोनालाई पराजित गर्न सक्षम रहेको प्रतिक्रिया दिएका छन् ।

तपाईको प्रतिक्रिया