- शैलेन्द्र थापा

नयाँ शैक्षिक सत्र सँगै अभिभावकलाई मात्रै हैन साना साना नानीहरुलाई समेत ठूलो तनावले घेर्छ । अभिभावकलाई आफ्ना सन्तानको विद्यालय शिक्षा शुरु गर्ने विद्यालय छनौटको तनाव हुन्छ भने, ती साना नानीहरु आमावावु वा अभिभावकको हात समातेर विद्यालय चहारी रहेको दृष्य देखिन्छ !

राजधानीको नाम चलेको एक विद्यालयमा कक्षा एकमा भर्ना हुन प्रवेश परीक्षाको लागि हजारौ बालबालिकाको भिड जम्मा भएको घटना ताजै छ । उक्त समयमा बच्चा बोकेर आएका अभिभावकका सवारी साधनले ट्राफिक जाम नै भयो । उदेक लाग्दो त यो छ कि ति कलिला बालबालिकालाई कस्तो शिक्षा दिनको लागि त्यो भिड भएको होला ?

अक्षर सम्म राम्ररी नचिन्दै ति बालबालिकालाई कति सजिलै पास र फेलको विल्ला लगाइन्छ ? प्रवेश परिक्षा दिएका सवै बच्चा सफल हुन्छन् भन्नेै छैन । अनि ति नाम निकाल्न असफल भएको कलिलो मस्तिष्कलाई कति सजिलै हामी भनिदिन्छौं तिमी असफल भयौ¸ तिम्रो त नाम नै निस्किएन ! त्यो सानो मस्तिष्कमा असफल भन्ने शब्दले कति तनाव दिन्छ ! त्यसको चाँही हामीलाई कूनै मतलब नै छैन ।

धेरै अविभावक  ठान्दछन् बच्चाले सानै देखि कितावी ज्ञान धेरै पाओस् अनि प्लस टु गरे पछि कूनै विदेशी विश्वविद्यालयमा नाम निकालोस् र गाँउ टोल छर छिमेकमा भन्न  पाइयोस् मेरो छोरा वा छोरी फलानो देशमा पढ्न गयो । यति मात्र कहाँ हो र ? छोरा छोरीले टुरिष्ट भिषामा एक दुई हप्ता विदेश लगि देओस् । बस यत्ति छ धेरैको उद्देश्य ! अनि यता विरामी हुँदा तातो पानी तताएर दिने मानिस हुँदैन र पनि आधुनिक शिक्षामा गर्व गरेर बसेकै हुन्छन् अविभावक । एकातिर त्यो कलिलो दिमागमा असफलताको ट्याग भिराइदिने गम्भिर गल्ती हुदै गएको छ भने अर्कातिर किताबी ज्ञान मात्रले जीवन चल्दैन भन्ने सोच अभिभावकमा आउन सकेको छैन ।

साना नानी बाबुहरु जो भर्खर हिड्न सक्ने भएकै वेला देखि लतार्दै र घिसार्दै भ्यानमा राखेर विद्यालय पठाउने साँझ आए पछि गृहकार्य गर¸ यो नगर त्यो नगर भनेर मानसिक यातना आज प्रत्येक घर घरमा छ । भर्खर खेल्नु पर्ने उमेरको बच्चालाई किताबको भारि अनि गृहकार्य आदि आदिले कतै हामीले ति कलिला मुना माथि अन्याय त गरेका छैनौ ? अझ कति अभिभावक सजिलै भनि दिन्छन् फलानोको छोरा वा छोरीले कस्तो पढ्न जानेको छ । तिमी त केही जान्दैनौं ?  यस्तो सम्मको यातना त्यो कलिलो दिमागमा किन दिने ? सानो उमेरमा वा भनौ ५ वर्ष भन्दा पनि मुनिको बच्चाले ए देखि जेड सम्म र एक देखि सयसम्म लेख्न  सक्नु मात्रै जान्ने र नजान्नेर बिचको मापदण्ड हो र ?

एकातिर बाल सुलभपन अर्को तर्फ जान्ने नजान्ने र सफलता असफलता आदिले हामी यो सोच्दैनौ कि ति कलिलो मस्तिष्कमा कस्तो असर परेको छ । र अर्को तर्फ हामी आफ्ना सन्तानलाई किताबी किरो भएकोमा मख्ख पर्छौ¸ गजक्क हुन्छौं । र पछि त्यहि सन्तानले भन्ने  छ दुध साइकलले दिन्छ !

यो प्रकारको शिक्षाले समाज विकास हुन्छ भनेर कल्पना गर्नु एक हदसम्म मुर्खता पनि हुन सक्छ । विहान निन्द्रामै उठाएर भ्यानमा स्कूल फेरी स्कूलबाट घर आए पछि निन्द्राको सुरमा गृहकार्य यतिमै कलिलो दिमागको दैनिकी बित्ने छ ।

हालै मात्र छिमेकी मुलुक भारतमा एक कक्षा भन्दा मुनिको बच्चालाई गृहकार्य दिन नपाउने नियम लागू भएको छ । यसमा थुप्रै मनोवैज्ञानिक पक्षहरु छन् । खेल्नु पर्ने र आमा वावुको काखमा लुटपुटिएर बालापनको दैनिकी गुजार्नु पर्ने बेलामा गृहकार्यको भारि पक्कै पनि बाल मस्तिष्कको लागि उपयुक्त हुँदै होइन । र  अर्को कुरा किताबी ज्ञानले मात्र हुँदैन अन्य कुरा पनि जान्नु पर्छ भनेर कति अभिभावकले आफ्ना छोराछोरीलाई सिकाउलान् ? जीवन उपयोगी किताबी ज्ञान बाहेक यस्ता थुप्रै ज्ञान जरुरी छ जसले जीवन जिउने कला सिकाओस् ।

त्यस विषयमा हामीले कहिले सोच्ने ? शहरमा जन्मि हुर्किएको बच्चा र गाउँमा जन्मी हुर्किएको बच्चामा धेरै अवस्थामा किताबी बाहेकका ज्ञानमा धेरै फरक परेका प्रशस्त उदाहरण पाउन सकिन्छ । पढाइको डिग्रीले जीवनका अन्य पाटाहरुलाई ओझेल पार्न दिन हुँदैन ।

केही दिन अघि एक टेलिभिजनमा प्रश्न उत्तर कार्यक्रम हेर्दै थिएँ, स्नातक पढ्दै गरेका एक विद्यार्थीलाई प्रश्न दिइयो – टाढासम्म हेर्नको लागी कुन यन्त्रको प्रयोग हुन्छ ? चार वटा उत्तर मध्ये एकमा लेखिएको थियो दुरविन तर ति विद्यार्थीले भनि दिए माइक्रोस्कोप । अब सोचौं हाम्रो शिक्षाको स्तर कहाँ छ ? अन्य बाहिरी ज्ञान त परको कुरा । अनि हामी डिस्टिङ्गसन र प्रतिशतका कुरा गर्छौं तर शिक्षा कति एकोहोरो छ ख्याल नै गर्दैनौ ।

त्यसैले आफ्ना बच्चालाई अहिले देखि असफलताको ट्याग भिराउनु भन्दा असफल हुनु ठूलो कुरा होइन सामान्य हो, भनेर किन नसिकाउने ? कलिलो दिमागमा गृहकार्यको भारि अनि झोला भरि कितावको भारिले मात्र गुणस्तरीय शिक्षा हुन सक्दैन भन्ने तर्फ पनि किन नसोच्ने ? अझ भनौं कति अभिभावक छन् जो बच्चालाई डर त्रास देखाएर पढ्न बाध्य पार्ने । तर कहिले यो सोचिएन कि व्यवहारिक ज्ञान पनि दिउँ ।
कति अभिभावक छन् कलिला बच्चालाई प्रहरी शब्द सुनाएर डर देखाउने । के प्रहरी डर देखाउने शब्द हो र ? त्यसको सट्टा अप्ठ्यारो पर्दा प्रहरी अंकल आन्टीलाई भन है भनेर सिकाउने पो हो कि ? त्यसैले कलिलो दिमागलाई आजै देखि असफलताको ट्याग नभिराउँ । किताबी किरो मात्र सफलताको मापक होइन ।

तपाईको प्रतिक्रिया