- सञ्जय खड्का

यतिबेला नेपाली राजनीतिमा ‘राजनीतिक डिस्कोर्स’ भन्दा ‘राजधानी डिस्कोर्स’ ले चर्चा पाएको छ । प्रदेश नं १ पनि प्रादेशिक राजधानीको विषयले राम्रै बजार तताएको देखिन्छ । सामाजिक सञ्जालदेखि चिया गफसम्मका जमघटमा सबै स्थान तथा शहरका वासिन्दाले आफ्नै स्थान वा शहर प्रादेशिक राजधानीका लागि उपयुक्त हुने तर्क गरिरहेका छन् । स्थानीय निर्वाचनका उम्मेदवारले पनि आफ्नै शहरलाई राजधानी बनाउने बाचा समेत गरिसकेका छन् । सबै निर्वाचित मेयरको वाचा पूरा हुनसक्ने कुरै भएन । कुन चाँहि मेयरको वाचा पूरा हुने हो ? त्यो हेर्न बाँकी नै छ ।

म प्रदेश नं. १ को वासिन्दा । मलाई पनि मेरो प्रदेशको राजधानी कहाँ र किन हुनुपर्छ भन्ने चाँसो अनि जिज्ञासा हुनु स्वभाविक हो । हालसम्म प्रदेश नं १ को संभावित राजधानीको रुपमा धनकुटा, इटहरी र विराटनगरलाई हेरिएको छ । राजधानीको सवाल राजधानीमा मात्र सीमित छैन । यो राजनीतिक र आर्थिक स्वार्थसँग जोडिएको सवाल हो । राजधानीको विषयलाई लिएर विभिन्न शहरका शहरवासीवीच बहस चर्काचर्की हुनु स्वाभाविक हो । तर बहस भने तर्कका साथै भद्र र व्यवहारिक पनि हुन आवश्यक छ । कसैका क्षणिक स्वार्थका लागि नभएर जनताका सहजताका लागि राजधानीको बहस हुनुपर्छ । यस अर्थमा इटहरी प्रदेशिक राजधानीका लागि उपयुक्त नगर हो ।

प्रादेशिक राजधानीका लागि इटहरी उपयुक्त हुनुका आधारहरू

१) नयाँ शहरलाई अवसरः

पुराना र स्थापित शहरलाई राजधानी बनाउँदा जिर्णवास्थामा रहेका पूर्वाधारहरूका कारण केहि खर्च त कम होला तर यसले नयाँ शहरको रचना गर्ने अवसरलाई कुण्ठित गर्नेछ । त्यस्तै शहरीकरणको सम्भावनालाई कुण्ठित गर्छ, खुम्चाउँछ । हामीले कल्पना गरेको, परिकल्पना गरेको नयाँ नेपाल निमार्ण तब मात्र साकार हुनसक्छ जब हामी नयाँ शहरहरू निमार्ण गर्छौँ, जब हामी नयाँ आधुनिक, सुन्दर र नमूना शहर निमार्ण गर्छौँ ।

२) भौगोलिक सुगमता (केन्द्रविन्दु) : 

(क) यातायातको दृष्टिकोणबाट पूर्व, पश्चिम, उत्तर, दक्षिणहुँदै जुनसुकै ठाउँका लागि र जुनसुकै ठाउँबाट इटहरी सहज छ । झापा होस् या विराटनगर, धनकुटा होस् या प्रदेश नं १ का अधिकांश पहाडी जिल्ला, सबैतिर पुग्नका लागि इटहरी पुग्नै पर्ने बाध्यता पनि छ । यसर्थमा पनि जनताको सुविधाको दृष्टिकोणले इटहरी नै राजधानीका लागि उपयुक्त ठाउँ हो ।

(ख) प्रादेशिक राजधानी, संघीय राजधानी वा अन्तरप्रादेशिक पहुँचका लागि सहज हुने स्थानमा हुनुपर्दछ । यस आधारमा हेर्ने हो भने पनि इटहरी उपयुक्त स्थानमा अवस्थित छ । तसर्थ, अरू शहर वा स्थानमा भन्दा प्रादेशिक राजधानीका लागि इटहरीको विकल्प अरू हुन सक्दैन ।

३) पर्याप्त भौतिक संरचना  :

प्रादेशिक राजधानीका लागि आवश्यक पर्ने भौतिक संरचना इटहरीमा उपलब्ध छन् । इटहरीस्थित तरहरामा रहेको क्षेत्रीय कृषि अनुसन्धानमा सयौं विघा जमिनसहित दर्जजौँ सुविधासम्पन्न भवनहरू छन् जसलाई प्रादेशिक सरकारका तथा मन्त्रालयका लागि प्रयोग गर्न सकिन्छ । स्थायी प्रादेशिक भवन नबनुन्जेलसम्म तरहरा कृषि फार्मका खाली भवनहरूलाई लिजमा लिन सकिन्छ । तरहरा मात्रै प्रादेशिक सरकारका लागि एक मात्र विकल्प भने होइन । इटहरीका अन्य ठाउँमा पनि ५० औँ विघा जमिन रहेकाले त्यहाँ पनि प्रदेशको राजधानी राख्न सकिन्छ । तर संरचना, सहजता र व्यवहारिताको दृष्टिकोणले तरहरा फार्म नै प्रादेशिक राजधानीका लागि उपयुक्त देखिन्छ ।

४) समावेशी बसोबासः

कुनै एकल जाति, धर्म वा सम्प्रदायको प्रभुत्व भएको शहरलाई राजधानी बनाउनु उपयुक्त हुँदैन । प्रादेशिक राजधानीले सबै जातजातीय, धार्मिक, भाषिक र सांस्कृतिक प्रतिनिधित्व गर्नु पर्दछ । यस व्यवहारिक आधारमा पनि इटहरी राजधानीको लागि उपयुtm देखिन्छ । किनभने जनगणनाको तथ्यांकका आधारमा हेर्दा इटहरीमा पहाडे क्षेत्री बाहुन, जनजाति, थारु, दलित, मधेसी समुदायका विभिन्न आदिवासी लागायत ६९ जातजातिको बसोबास छ । धार्मिक हिसाबले पनि यहाँ विभिन्न धर्मावलम्वीहरूको मिश्रति बसोबास छ । अतः इटहरी उपमहानगरपालिकले बहुजाजीय, बहुधार्मिक, बहुभाषिक तथा बहुसाँस्कृतिक नेपालको प्रतिविम्वत गर्छ भन्दा अतिशयोक्ति हुँदैन ।

५) सुरक्षित शहरः

सुरक्षाको दृष्टिकोणबाट प्रादेशिक राजधानी बलियो हुन आवश्यक छ । इटहरीमा नेपाली सेनाको पृतना मुख्यालय र इटहरीसँगै जोडिएको पकलीमा सशस्त्र प्रहरीको क्षेत्रीय स्तरको बाहिनी छ । प्रदेशभित्र कुनै घटना विशेषमा सुरक्षाकर्मी परिचालन गर्नका लागि पनि इटहरी उपयुtm छ । साथै, सुरक्षाको दृष्टिकोणबाट हेर्दा प्रादेशिक राजधानीबाट अन्तर्राष्ट्रिय सीमा धेरै नजिक हुनु प्रादेशिक राजधानीका लागि उपयुक्त हुँदैन । यस अर्थमा पनि इटहरी प्रादेशिक राजधानीका लागि उपयुक्त छ ।

इटहरीमाथि लागेका कमजोर आरोप

– ऐतिहासिक महत्व नहुनुः धनकुटा र विराटनगरको ऐतिहासिक महत्व भएकोेले आफ्ना ठाउँलाई राजधानी बनाउनु पर्ने तर्कहरू त्यहाँका केही नेता र नागरिकहरूको छ । कुनै पनि स्थानको ऐतिहासिक महत्व हुनु राम्रो कुरा हो । तर के ऐतिहासिक महत्व हुनु नै प्रादेशिक राजधानीको मापदण्ड हुन सक्छ त ? संघीय संरचनामा गइसकेको अवस्थामा फगत ऐतिहासिक स्थललाई मात्र काखी च्याप्ने हो कि नयाँ शहरलाई आधुनिक र समृद्ध बनाएर नयाँ इतिहास रच्ने ? यो विषयमा फराकिलो तरिकाले सोच्ने बेला हो यो ।

– महानगरपालिका नहुनुः एकाधको तर्क छ-विराटनगर महानगरपालिका भएकोले यसलाई राजधानी बनाउनुपर्छ । के महानगर राजधानीको निर्विकल्प मापदण्ड हो ? यसो हो भने महानगर नभएका प्रदेश ६ र ७ मा कुनै राजधानी नहुने त ? अबको आधुनिक नेपाल निमार्ण गर्ने क्रममा हामीले ‘महा’ लाई महाकेन्दि्रत गरेर फेरि केन्दि्रकृत गर्ने होइन कि ‘उपमहा’ हरूलाई ‘महा’ बनाउने अभियानमा लाग्नुपर्छ । यसकारण विराटनगर महानगरपालिकालाई आधार बनाएर प्रादेशिक राजधानी विराटनगरनै हुनुपर्छ भन्ने तर्कमा बलियो छैन ।

– एयरपोर्ट नहुनुः इटहरीमा एयरपोर्ट नभएको सत्य हो, नकार्न मिल्दैन । विराटनगरमा विमानस्थल छँदैछ जुन आधा घण्टामा पुग्न सकिन्छ भने धरानमा बन्दै गरेको विमानस्थल २० मिनेटमा पुग्न सकिन्छ । इटहरीबाट दुवै दिशातर्फ विमानस्थल सजिलै पुग्न सकिन्छ भने राजधानीमै एयरपोर्ट चाहिन्छ र ? त्यहीँ नभइ नहुने भन्ने केही छ र ? फेरि ध्वनि प्रदुषण वा वातावरणको दृष्टिकोणले पनि राजधानीभन्दा एकाध किलोमिटर टाढा विमानस्थल हुनु राम्रो मानिन्छ ।

इटहरीको वास्तविक कमजोरी

छोटो समयमा द्रुत गतिमा विकास गर्दै गएको इटहरी बिजनेस सीटी मात्र नभएर कल्चरल सीटी र एजुकेशन हबको पहिचान बनाउँदै गएको छ । धेरै सम्भावना बोकेको इटहरी शहर, नयाँ उदयमान शक्तिशाली शहरको रुपमा विकास भइरहेता पनि यहाँ पहुँच भएका केन्दि्रय प्रभावशाली नेता भने कमै छन् । विराटनगरको तुलनामा यहाँ प्रभावशाली नेता नगण्य छन् । यही कमजोरी नै इटहरीको सबैभन्दा ठूलो कमजोरी हो, भो, हुने भो ।

अन्तमा…

के इटहरीको यही कमजोरी नै निर्णायक कमजोरी साबित हुने हो त ?
के प्रदेशका जनता भन्दा केन्द्रीय नेता नै प्रभावशाली हुन् त ?
के केन्दबाट प्रदेशमा पनि माफियागिरी शुरु हुने भो त ?
के क्षणिक स्वार्थका अगाडि प्रादेशिक स्वार्थ हार्ने भो त ?

अतः प्रदेशको राजधानी खोज्ने यस महत्वपूर्ण समयमा निर्वाचनताका मतदातासँग गरेका बाचा कबुल पुरा गर्न, आफ्नो बसोबास भएको ठाउँको स्तरोनति गर्न, पार्टीको एजेण्डा पुरा गर्न र सीमित व्यक्तिका अगाडि आफु हिरो बन्नका लागि मात्रै नेताहरूले प्रादेशिक राजधानीको लवी गर्नु हुँदैन । यो नेताहरूका लागि राजनैतिक क्षमता अनि दुरदर्सीता देखाउने समय पनि हो । भौगोलिक, आर्थिक, सांस्कृतिक, सामाजिक सबै कुराबाट सहज, राज्यलाई व्ययभार कम हुने, सबैको पायक पर्ने लगायत यावत कुराहरूबाट उपयूक्त, परिपक्क र समक्ष ठाउँनै प्रदेशको राजधानी हुनुपर्छ, बनाइनुपर्छ । यसमा आम सचेत नागरिकको सल्लाह, सुझाव अनि दबाब जरुरी छ ।

तपाईको प्रतिक्रिया