बिपेन्द्र गौतम
पाँचथर । पाँचथरको सदरमुकाम फिदिममा रहेको जिल्ला कारागार शाखा पाँचथरमा क्षमता भन्दा ६ गुणा बढी कैदी राखिएको छ । २५ जनाको क्षमता रहेको ङ श्रेणीको सो कारागारमा हाल महिला पुरुष गरी जम्मा १५३ जना कैदी बन्दि रहेका छन् । २०७२ सालको भुकम्पले जिर्ण भएको सो कारागार २० जना पुरुष र पाँच महिला क्षमता रहेको भएतापनि हाल सो कारागारमा एक सय ३६ पुरुष, १३ महिला, एक बालक र एक बालिका रहेका छन् । पुरुष कैदीका लागि तीन वटा र महिलाको लागि दुई वटा सुत्ने कोठा रहेका छन् । कारागारमा क्षमता बढी कैदि बन्दिहरुलाई सुत्नको लागि समस्या हुने गरेका कारण बैकल्पिक व्यवस्थाको लागि खाटमाथि खाट राखेर सुत्ने व्यवस्था गरिएको कारागार प्रमुख सुरेन्द्रबहादुर मुखियाले बताउनुभएको छ । भुकम्पले सो कारागारको कम्पाउण्ड वाल चिरा चिरा भई चर्किएको छ । यता उक्त कारागारका बिरामी कैदीहरुको लागि बार्षिक ८० हजारदेखि एक लाख रुपैयाँसम्म मात्र औषधि उपचारको लागि बजेट निकाश हुने भएका कारण सो रकम अपुग हुने गरेको सो कारागारका कैदी नायक टेकनाथ रिजालले बताउनुभएको छ । सो कारगारमा २५ जना कैदिले नियमित औषधी प्रयोग गर्ने गरेको बताइएको छ । मानब अधिकार तथा शान्ति समाज, सञ्चारकर्मीहरुले हालै गरेको कारागार निरिक्षण तथा अन्तरक्रिया कार्यक्रममा सो कुरा जानकारी गराईएको हो । सो अन्तरक्रिया कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सचिव चन्द्रकुमार आङदेम्बे सञ्चारकर्मी लगायतका व्यक्तिहरुले कैदिहरुको लागि न्युनतम मानबीय आवश्यकताका बिषयलाई ध्यान दिन आग्रह गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया