कृष्ण भट्टराई जुनेली

केही वर्ष यता देखि मुलुकको ठुलो आर्थिक हिस्सा वैदेशिक रोजगारीका माध्यमबाट भित्रने रेमीटान्सले समेत ओगट्दै आएको छ । राज्यले नै कतिपय देशहरुका लागि वैदेशिक रोजगारीलाई मान्यता प्रदान गरेको छ । वैदेशिक रोजगारीका लागि विभिन्न किसिमका सिप सिकाउने देखि लिएर शिक्षा प्रदान गर्ने काममा पनि नेपाल सरकारले नै स्वीकृति दिदै आएको छ । आफनो मुलुकमा रोजगारीका अवसरहरु नहुनु तथा भएपनि परिवार चलाउन नपुग्ने भएका कारण समेत धेरै युवाहरु खाडी तथा अन्य मुलुकहरुमा रोजगारीका लागि जाने गरेका छन । कतिपयले वैदेशिक रोजगारीका कारण राम्रै वन्दोवस्ती बाधेको पनि देखिन्छ भने कतिपयको परिवार वैदेशिक रोजगारीकै कारण विखण्ड समेत भएको पाइन्छ । समाजमा देखिएका यस्तै गतिविधिहरुलाई झल्काउदै सवारी साधनका अग्र भाग ,भित्र पट्टी ,पिठुँउ र पुच्छरमा सटिक साहित्यीक शब्दहरु लेख्दै समाजलाई सचेत र खवरदारी गर्ने काम गर्दै आएका छन गुरुजीहरुले ।
मायाले सन्सार चल्ने भए,
मुनालाई छोडी मदन किन भोट गए ?
– ना ४ ख ३७८१
परिवारको पालन पोषणको जिम्मेवारी काँधमा भएको ,गर्न भन्न सक्ने युवाहरु आफना आमा बुबा ,श्रीमती ,छोराछोरीलाई छोडेर परिवार चलाउनकै लागि विदेशमा जानु परिरहेको वाध्यतालाई समेटेका छन गुरुजीहरुले । रमाइला र रसिक पाराले कतै मौलिक त कतै साभार गरिएका छोटा साहित्य सिर्जनालाई सवारी साधनहरुमा स्थान दिएर गुरुजीहरुले आफना भावना पोख्ने काम पनि गर्दै आएका छन ।
मुलुकमा व्याप्त राजनैतिक अस्थिरताका कारण पनि अवसर नपाएर बैदेशिक रोजगारीका लागि मरुभुमीमा खट्न जाने युवाहरुको पिडा मात्र हैन । राजनैतिक रुपमा मुलुकमा दुई तिहाईको सरकार बनेपनि बैदेशिक रोजगारीमै जानु पर्ने तितो यर्थातलाई व्यगात्मक शैलीमा प्रस्तुत गर्न पनि गुरुजीहरु पछि परेका छैनन।
सुधारियो नेपाल भनी आएको हतारैहतारमा ।
पाइन्छ दुःख नजाऊ है अब
त्यो खाडी मुलुक साउदी र कतारमा
देखियो नयाँ नेपालको ताल पनि ।
ना ४ ख २४७०
आफनै मुलुकमा रोजगारीका लागि अवसर नपाएर अवसरका लागि विदेश सम्म भौतारिने युवाहरुले जसका लागि आफुले दुःख कस्ट सहेर विदेशीका नोकर भएर काम गर्दै आएका छन । भोलीका दिनमा तिनैसंग सुखका साथ जीवन विताउने मिठो सपना देखेर धन कमाउन आफुले देश छोडेसंगै आफनी मनकी रानी श्रीमतीले मती छोडेपछिको पिडा सहन वाध्य युवाहरुको पिडा समेत सवारी साधनमा पोख्ने काम गुरुजीहरुले गरेका छन ।
गाउँलेको कथा हामीलाई के थाहा ।
हाम्रो कथा गाउँलेलाई के थाहा ।
आजकलका सीताहरू दिउँसै रावणलाई घरमा बोलाउँछन
बिचरा कतारमा बस्ने रामलाई के थाहा ।
– बा २ ख ६११
लामो समय सम्म परिवार छोडेर विदेशमा पसिना वगाउन वाध्य कतिपय युवाहरु विवाह गरेर भोलीका दिनमा सुखद जीवन विताउने सपना बुन्दै विदेश कामका लागि लाग्छन । विदेशवाट कमाएर पठाएको रकम सहित यता श्रीमती अर्कैसंग भाग्छीन । केही वर्ष यता देखि वैदेशिक रोजगारीमा गएका कतिपय युवाहरुका श्रीमतीहरु अर्कैसंग हिडेको तर्फ लक्षित गर्दै कटाक्ष पनि गरेका गुरुजीहरुले ।
लोग्ने हिँड्यो साउदीको खाडीमा ।
स्वास्नी चढी अर्कैको गाडीमा ।
फुल्यो निम–पत्ता, तिन सालमा फर्किँदा बूढी बेपत्ता ।
– लु २ च २३२२
आर्थिक अवस्थाका कारण पारिवारीक माया मोह त्यागेर विदेश जाने युवाहरु समयमै नफर्कदा बैशालु उमेरकी श्रीमती अर्कैसंग पोइला गएको विदेशी भुमिमै सुन्नु पर्ने पिडा पनि कतिपय युवाहरुले भोग्दै आएको वास्तविकतालाई समेत सवारीका साधनमा लेखिएका साहित्यमा समेटीएका छन ।
घर बसे आर्थिक चाप 
बिदेश गए स्वास्नी टाप
ना ३ ख ५५४
श्रीमती र सन्तानको खुशीका लागि आफनो ज्यानको प्रवाह नगरी विदेशी भुमिमा पसिना बगाइ रहदा रोगी बनेर फर्कदा घरै रित्याएर श्रीमती अर्कैसंग हिडेको सुन्दा पछुताउने युवाहरुको पिडाको अनुभुति समेत गराउने काम गरेका छन सवारी साधनहरुले ।

निठुरीलाई माया गरी यो ज्यानलाई रोगीबनाएं ।
माया त मोह रहेछ आफुलाई जोगी बनाएं ।
ना२ख ६८४५
आफनो माया र शुखी जीवन विताउने सपना बोकेर विदेशी भुमिमा पसिना बगाउने युवाहरुलाई छोडेर जाने श्रीमतीहरुका कारण कतिपय विचलीत भएर परिवार विखण्डनमा पारेका विषयवस्तुहरु मात्र हैन । त्यस्ता निस्ठुरीहरुलाई विर्सिएर पुन घरवार गरी खुशी जीवन विताउनेहरुका विषयवस्तु पनि गुरुजीहरुले उठान गरेका छन ।
जिन्दगी हाम्रो काल रहेछ थाहै भएन ।
तिमीजस्तो युवती कति आए कति गए बालै भएन ।
ना ३ख ८५५
बैदेशिक रोजगारीका विषयमा गुरुजीहरुले उठान गरेका विषयवस्तुहरुमा श्रीमान छोडेर अर्कैसंग हिड्ने महिलाहरुको मात्र चर्चा गरेका छैनन । विदेशवाट श्रीमानले कमाएर ल्याएपछि सुखद जीवन जिउने सपना संगालेर श्रीमानको प्रतिक्षामा बसेका महिलाका कथा पनि समेटीएका देखिन्छ । बैदेशिक रोजगारीमा गएका श्रीमानको प्रतिक्षा गरेर दिन काटिरहेकी श्रीमतीको माया प्रेमलाई समेत दर्साउने काम गरेका छन गुरुजीहरुले ।
रुने हाँस्ने जिन्दगी यो मरी जाने चोला ।
दोबाटोमा छोडी गयौं भेट कहिले होला ?
ना२ख २०८७
सवारीका साधनमा लेखिएका साहित्यहरु गुरुजी र सवारी धनीको निजी सोच र विचारहरु हुन । कुनै पनि सिर्जना लेखकको निजी सोच अनि विचार मात्र हुन्छ भने साभार गरिएका विषयवस्तुहरु समेत लेखकले रुचाएका राख्ने गरिन्छ ।
हाम्रो मुलुक नेपालमा छिमेकी मुलुक भारतवाट देखासिकीको रुपमा सवारी साधनहरुमा साहित्य सिर्जनाहरु राख्ने चलन भित्रीएको पाइन्छ । जे भएपनि सवारीका साधनहरुमा लेखिएका साहित्यीक भावनाहरुले रमाइलो मात्र गराउने काम गरेका छैनन । सामाजिक बहसको वातावरण तयार गरी समाजलाई सकारात्मक दिसा तर्फ डोर्याउन मार्ग निर्देशन गर्ने काम समेत सवारीका साधनमा देखिने साहित्यले गर्दै आएका छन ।

तपाईको प्रतिक्रिया