केराबारी / मोरङ्गको केराबारीमा आईतबारदेखि केराबारी गाउँपालिका स्तरीय खेलकुद प्रतियोगिता शुरु हुने भएको छ। केराबारी गाउँपालिका खेलकुद बिकास समितिको आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको हो।
आयोजक केराबारी गाउँपालिका खेलकुद बिकास समितिले गाउँपालिका कार्यालयमा शनिबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी गराएको हो। करिव १३लाख ६५हजार पाँचसय रुपैँया लागतमा सञ्चालन हुने प्रतियोगितामा पुरुष भलिबल, महिला र पुरुष फुटबल, चारसय मिटर र एकसय म्याराथुन प्रतियोगिता सञ्चालन गर्ने आयोजकले जनाएको छ।
फुटबल र भलिबल प्रतियोगितामा प्रथम हुने समुहलाई ३५हजार नगद र प्रमाण पत्र, द्वितिय हुने समुहलाई २५हजार नगद र प्रमाण पत्र एवं चारसय मिटर म्याराथुनमा प्रथम, द्वितिय र तृतीय हुने समुहलाई क्रमश ५हजार, ३हजार र २हजार एवं एकसय मिटर म्याराथुनमा प्रथम, द्वितीय र तृतिय हुनेलाई क्रमश ३हजार, २ हजार र एकहजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
केराबारीमा पनि उत्कृष्ट खेलाडी उत्पादन गर्न एवं खेलको माध्यमबाट केराबारी क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रको प्रवर्धन गर्न खेलकुद कार्यक्रम गर्न लागिएको केराबारी गाउँपालिकाकी उपाध्यक्ष एवं केराबारी गाउँपालिका खेलकुद बिकास समितिकी उपाध्यक्ष शान्ति लिम्बु भुजेलले बताउनुभयो।
प्रस्ताबित मच्छिन्द्र खेल मैदानमा सञ्चालन गर्न लागिएको प्रतियोगिता अवधीमा नै माध्यमिक तहमा अध्ययनरत केराबारी गाउँपालिकामा रहेका सबै माबि स्कुलहरुबाट पाँच÷पाँचजना छात्राहरुलाई आत्मरक्षा तालिम पनि प्रदान गरिने उपाध्यक्ष लिम्बुले बताउनुभयो।
उहाँले बढ्दो यौन हिंसा न्युनिकरण एवं बलात्कारका घटना बृद्वि भईरहेको बेला छात्राहरुलाई यस्तो तालिम प्रदान गर्न लागिएको लिम्बुले बताउनुभयो।
यसैबीच केराबारी ८स्थित मच्छिन्द्र माबिले उपयोग गर्दै आईरहेको खेल मैदानलाई रंगशाला बनाउन डिपिआर तयार भईसकेको र यसै आर्थिक बर्षमा ५०लाखको लागतमा मञ्चसहितको प्याराफिट निर्माण शुरु गरिने उपाध्यक्ष लिम्बुले बताउनुभयो।

तपाईको प्रतिक्रिया