सुनसरी/ सुनसरीको दुहवी ९ छाताबेलीका फिदा हुसेनको गोली हानी हत्या गर्ने समूहको पहिचान भएको छ ।  मंसिर ५ गते विहान गोली हानी हत्या गरिएका ५४ वर्षिय हुसेनको हत्यामा संलग्न तीनजनाई सुनसरी प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा सुनसरीको दुहवी ९ छाताबेलीका २८ वर्षिय मोहम्मद सकिम हुसेन, सोही स्थानका ३१ वर्षिय मोहम्मद जाविर हुसेन र दुहवी १२ सीतापुरका ६० वर्षिय बिशम्बर यादव रहेका छन् । यसैगरी सोही घटनामा संलग्नताका आधारमा दुहवी ९ का जफर मियाँ समेतलाई बाँकै प्रहरीको सहयोगमा पक्राउ गरि सुनसरी ल्याइदै गरेको समेत सुनसरी प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले दिएको जानकारी अनुसार सकिम हत्याको मूख्य योजनाकार हुन् भने जाविर हुसेन हत्या योजनामा संलग्न तथा सहयोगी हुन् । त्यसैगरी पक्राउ परेका वृद्ध बिशम्भर यादव हत्यामा प्रयोग भएको हतियार लुकाउन सहयोगी भूमिका खेल्ने व्यक्ति भएको पाइएको सुनसरी प्रहरीले जनाएको छ ।
हत्यामा संलग्नहरु पक्राउ पश्चात बयानका क्रममा हत्या सुनियोजित र रिसिवीका साथै आर्थिक लेनदेनको कारण भएको खुलेको सुनसरीका प्रहरी प्रमुख राजन अधिकारीले बताउनुभयो ।
हत्यामा अन्यको समेत संलग्नताको आशंकामा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीले हत्यामा प्रयोग भएको कटुवा पेस्तोल, २ राउण्ड गोली र चक्कु एक थान दुहवी १२ मा रहेको लक्ष्मीनारायण मन्दिरमा खाल्डो खनी लुकाएको अवस्थामा फेला पारेको छ ।
घटनाका विषयमा थप अनुसन्धान जारी रहेको सुनसरी प्रहरीले जनाएको छ । हुसेनलाई मंसिर ५ गते विहान मर्निङ वाकका क्रममा जयबाबा इटा उद्योग नजिकैको नहरको डिलमा गोली हानिएको थियो ।

तपाईको प्रतिक्रिया