विराटनगर, १९ मङ्सिर , प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई आई केयर टुरिजमको केन्द्रका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल नेत्र ज्योति सङ्घले शुरु गरेको स्कूलका बालबालिकामा देखिने दृष्टि दोष निवारण कार्यक्रमको उद्घाटन गर्दै उहाँले आँखा परीक्षणको क्षेत्रमा प्रदेशको अस्थायी राजधानी विराटनगर आगाडि रहेको बताउनुभयो ।

मुख्यमन्त्री राईले अन्य रोगको उपचारका लागि नेपाली जनता भारतलगायत अन्य देशमा जानुपर्ने बाध्यता रहे पनि आँखा परीक्षणका लागि वर्षेनी भारतबाट लाखौँको सङ्ख्यामा बिरामी विराटनगर आउने गरेकाले पनि यस क्षेत्रलाई आई केयर टुरिजमको केन्द्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

मोरङ र सुनसरीका स्कूलका बालबालिकाको निःशुल्क आँखा जाँच कार्यक्रम आजदेखि शुरु गरिएको हो । उक्त कार्यक्रममा दुई लाख ८० हजार स्कूल बालबालिकाको निःशुल्क आँखा जाँच गरिने जनाइएको छ । विद्यार्थीलाई निःशुल्क औषधि र छ हजार चस्मा वितरण गरिने जनाइएको छ ।
–––

तपाईको प्रतिक्रिया