.रामप्रसाद खरेल
कवि आलोक खनालले पनि जीवन र जगत्का आश्चर्यपूर्ण रहस्यहरु कवितामा उतारेका छन् । उनका कविताहरु परम्परागत ढाँचाबाट मुक्त बनेका छन् । भन्ने शैली र भन्ने बिषय पनि अलिक फरक ढङ्गका भेटिए खनालका कवितामा । रुढिवादी र गलत संस्कृतिलाई भत्काएर नवीन संस्कृति बनाउन पनि उद्यत् छन् आलोकका कविता ।
– दामोदर पुडासैनी ‘किशोर’
कवि आलोक खनालको ‘म देश भएको छैन’ कविता सङ्ग्रहको भूमिकामा यसै भन्छन् पुडासैनी । उनकै भनाइलाई सिरानमा राख्दै पुस्तकभित्र प्रवेश गर्दैछु । कृतिभित्र जम्मा ४० वटा कविता छन् । दैलोवाट पस्ने वितिकै ‘उषा’ लाई भेटिन्छ । उषामा मातृत्व र सन्तानको प्रतिबद्घता भेटिन्छ । मातृत्व दर्शन अलिक अनौठो तरिकाले नै प्रस्तुत गर्छन् ।
तयारीमात्र हो
तिम्रो कोखबाट बिहान उदाउनुको ।

मातृत्ववाट सन्तानप्रतिबद्घता यसरी पोख्दै कविताको वीट मार्छन् ः
सम्झनु – उक्लन पनि सजिलो छैन
आलोक जब उक्लनेछ मध्यआकाशमा
हेर्नू – देशले खोजेको सूर्य भेटिनेछ
उसबेला भने तिमीले
आलोककी आमा हुनुको अर्थ भेट्नेछ्यौ ।

कवितामा ‘आलोक’ भन्नाले एक सन्तानको प्रतिकात्मक रुपमा बुझ्नुपर्नेहुन्छ । ‘उषा’ लाई आमाको प्रतिक मान्नुपर्छ । उषा कविताले आफ्नो निमार्ण यानिकी स्वअस्तित्व निमार्णको लागि नविन उर्जा प्रदान गर्छ ।

कृतिको अन्तिम ढोकाबाट निस्कदा दैलोठेलैमा ‘नजर’ मा हाम्रो नजर पर्छ । प्रेम बगैँचामा फूलहरु फुलिसकेकाले जोगाउँनु भन्दै आफ्नी प्रमिकालाई सजग गराउँछन् । माहुरी वा भमराले फूलहरुलाई चुम्नपनि सक्छ र चुस्नपनि सक्छ । हुण्डरी चल्दा झार्नपनि सक्छ । पानी वा शीतले रुझाउँदा पनि प्रेमीको मन दुख्छ । र प्रतिकात्मक नै सही फूल जोगाउन कालाटिकाको भरमा छन् कवि ।
तिमीले हुर्काएको बगैँचामा
मानिसहरुले देख्नेगरी
फुलिसकेका छन् फूलहरु
यसमा डाह लाग्न सक्छ ।
ããã
तिमीले भर्खरै चम्पा हुर्काएकी छौ
जतिबेला पनि मानिसहरुले
नजर हाल्न सक्छन्
चम्पा !
ढकमक्क तिमी फूल्दा
कसैको आँखा लाग्न नदिनू
अब सबै जिम्मा
तिम्रो कालाटीकामा छ ।
ããã
उषा र नजरका बिचमा छन् ढकमक्क फुलेका वास्नादार र सुन्दर फूलहरु अक्षरहरु भएर । विस्तारै तर कतै गहिराइमा कतै अधिक उचाइमा पुर्याउँछन आलोकका कविताहरुले । फेरि अन्तरद्वन्द्घजस्तो लाग्ने उचाइमा पुगिसक्दापनि समथर तराइमा छु जस्तो लाग्छ । बिचमा घुम्दै जाँदा हिँउले जिउँ कठयाङ्ग्रीन सक्छ तर आफूलाई चै वलेको अगेनो छेउमा उभिएको भान हुन्छ ।
पौराणिक मिथकहरुलाई पनि उतिकै न्यायसंगत ढङ्गबाट प्रस्तुत भएको छ कवितामा । दुर्गा, गान्धारी, आन्दोलन तथा उर्मिला पौराणिक मिथकमा आधरित कविताहरु हुन् ।
उर्मिला कविता यस कृतिको मात्र होइन कविता जगतमै एक शक्तिशाली कविता हो भन्दा पनि अतियुक्ति नहोला । तर यो कुरा पढ्नुमा होइन, बुझनुमा छ । प्रेम, यौन, मनोविज्ञान, धर्यता, साहनुभूति, प्रतिक्षा, नविनता र चलायमान लगायत विविध कुराको संयोजन उर्मिला कविता भित्र भेटिन्छ । फेरि प्रेममात्र होइन लक्ष्मणप्रति शालिन विद्रोह पनि छताछुल्ल भएको छ । यौन कुण्ठाको वर्णन झन अतुलनिय छ । लक्ष्मणलाई उर्मिला भन्छिन् ः
प्रभुले बुझिबक्सिएन
हजुरलाई पनि प्रभुसेवा नै प्रिय भयो
अनि, म कसरी सम्झूँ
सीताजी वनवास पसेको निर्णय ।

यी चौध बर्षका दिनहरु
म अबला ऊर्मिला ।
………………..
सीताजीले स्याउलाका छहारीमा प्रभुसेवा गरिरहँदा
हजुरलाई कुनै छटपटी नहुनु
र, केवल रामभक्ति लाग्नु
यो ऊर्मिला कसको सेवा गरोस ?
कसको भक्ति गरोस् ?
र, कसरी भनोस्
यसरी पनि प्रभुपद प्राप्त हुन्छ भनेर ?
पतिदेव !
हजुरले बुझनुपर्ने हो , बुझिबक्सिएन ।।

कविताहरु वढि प्रेमको जगमा उभिएका छन् ‘म देश भएको छैन’ भित्र । प्रेमकै जगमा विद्रोह छ कतै । कुनै कित्तामा परिवर्तनको चाह छ । कुनै मरुभूमीभित्र पनि हरियालीको आशा गरिएको छ । नयाँ बाटो कोर्न खोजेजस्तो लाग्दालाग्दै पनि आधुनिक मुलबाटोमा नै हिडिरहेजस्तो लाग्छ अध्ययनको गहिराइमा पुग्दा ।
हृदयको भाषा आँखाले वोल्छ, मस्तिष्कको भाषा ओठले वोल्छ । तर यहाँ हृदयको भाषा पनि ओठबाट प्रस्तुत गर्ने साहस गरिएको छ । यसै साहले जन्माएको छ ‘ओठहरु’ शिर्षकको कविता । अलिकति मृत्यु र अलिकति अध्यात्म पनि पाइन्छ ‘ओठहरु’ भित्र ।

यी ओठहरु साँच्चै प्रिय छन्
र, भन्नुहुन्छ
मेरा ओठहरुको ध्वनि प्रिय हुन्छ
यसैले त हाम्रा मिलनहरु प्रिय छन् ।
………………………
कल्पाना शक्तिको वेजोड प्रयोग ‘वादल’ कवितामा गरिएको छ । कवि वादलमै मरेकी हजुरआमा पनि देख्छन् । आफ्नी प्रेमिका पनि । खेतवारी, रोपाहार सबैसबै ।
बादलको बस्तीतिर
बादलहरुमात्रै बस्तैनन् भन्ने लागेपछि
केही समयदेखि हेरिरहेको छु आकाश ।

कल्पनामा दौडदा दौडदै आफ्ना दमित इच्छाहरुपनि पोख्छन् । यसपछि आफ्नो निर्णय पनि दिइहाल्छन् यसरी ः
बादल,
आकाशमै परिवर्तन हुँदै बसेको भन्दा
धर्तीमै झरिरहेको राम्रो ।

‘वादल’ पछि लगतै ‘वालपेपर’ आउँछ । प्रेमले लप्पक भिजेको । छोपिएको तर देखिएको मायालुको तस्बिर । भौतिक शरिर टाढाभएपनि कसरी आफ्नी प्रेमिकालाई स्पर्श गरिरहने धेरै सोच्नै पर्दैन मोवाइल वालपेपरमा राख्ने । दिनमै कयौचोटीको स्पर्श । स्पर्श फेरि नछोइएको पनि । यो यौन मनोविज्ञानको उच्च स्तरको प्रयोग गरिएको कविता हो । यो कवितामा वियोगको चिन्ता छ कताकता ।
सम्झ त
कुनै दिन वालपेपर परिवर्तन गर्नुपर्यो भने
भो नसम्झाऊ
त्यो मायालु रात कसरी मर्नेछ ।

‘मातृभाषा’ कवितामा मासिदै गएको नेपाली भाषा र संंस्कृतिको बारेमा चिन्ता गरिएको छ । नेपालको वर्तमान शिक्षाप्रणालीप्रति गतिलो प्रहार छ यसमा । भाषाको अङ्ग्रेजीकरणले एकदिन नेपाली भाषा पूरै मासिन सक्छ भनेर समाजलाई सजग गराएको छ यो कविताले ।

तिमीले सिकाएको भाषाले खान नपुग्ने भएपछि
मेरो देशमा
कक्षाकोठाको नजिकैका भँगेरा पनि पढ्दै होलान्
एम फर मदर
एफ फर फादर
आमा !
अब केही दिनमै आमाको भाषा पनि यही हुनेछ ।

अर्को १ सय पेजमा रहेको कविता ‘आनन्द’ मा आत्मिक माधुर्यताको वढो मिहिन तरिकाले प्रस्तुत गरिएको छ । एक प्रेमी वा प्रेमीकालाई वक्ता बनाएर तयार पारिएको यो कवितामा भौतिक÷आत्मिक सामिप्यताको व्याख्य गरिएको छ । कबिताको अलिकति अंश ः

आनन्द जो–कसैलाई पनि लाग्छ
पलभरका लागि आँखा उर्घानुमा
र, आनन्द
जो–कसैलाई पनि लाग्छ
निमेषभरका लागि आँखा चिम्लनुमा ।

कवि आलोक खनालको कविता सङ्ग्रह ‘म देश भएको छैन्’ लाई सोलोडोलो राम्रो वा नराम्रो भन्ने हैसियत राख्न मुस्किल छ । तर यति भन्न सकिन्छ कि कविताकै लहरमा आफ्नो हैसियत राख्नेगरी उभिन सफल छन् यो सङ्ग्रह भित्रका कविताहरु । कतैकतै प्रस्तुतिमा जटिलता पनि भेटिन्छन् । कुनै कविता चै सङ्ग्रहमा नराखेको भएपनि हुन्थ्यो झै लाग्न सक्छ पाठकलाई । मन पर्ने र नपर्ने बिषय पाठक अनुसार फरक–फरक हुन्छ ।

कविताको मूल्याङ्कन गर्न सकिदैन्, वरु कविता लेख्न सकिन्छ ।

मेरो आफ्नो भन्दा पनि कविले पुस्तकमा लेखेका यी शब्द राखिदिए मूल्याङ्कनकालागि वेस होला भन्ने लाग्यो । कवि आलोक लेख्छन् –“प्रेम र सौन्दर्यको कुरा गर्दा पूर्ण प्रेम भयो भने वा वैराग्य भयो भने कविता सायदै बन्दैन । त्यहाँ समाधि लाग्छ । पूर्ण ज्ञान हुन्छ । समाधि आफैँमा कविताको चरम बिन्दु हो, त्यसपछि कुनै कविता बाँकी रहँदैन् । जब म प्रेममा हुन्छु, म वियोगका कविता खोज्छु । किनकी, प्रेममा रहेर खोजिने वियोगको कलात्मक चेत नै बेग्लै लाग्छ । जब म वियोगमा रहन्छु, प्रेमका कविता लेख्छु । प्रेम र वियोगको साम्यबिन्दु प्राप्त भएको समय भने म अलौकिक प्रेमको शिखरमा हुन्छु, तब सुन्दर कविता जन्मन्छ ।”
कवि आफ्नो कविताको आयूको बिषयमा लेख्छन् – “दीर्घकालमा मत्यु पनि निश्चित भएकाले म आफ्ना कवितालाई मेरो शरीरको भन्दा केही लामो आयुमात्र दिन सक्छु ।”

अन्त्यमा यसै किताबमा रहेको भूमिकाको केही अंशलाई राख्दै बिट मार्छु । भूमिकामा लेखिएको छ – “ राँको जलाएर होस् या दियालो बालेर अथवा नवीन शैलीले बिजुली निकालेर, कविताको उज्यालोले हरेक जीवनलाई छुनै पर्छ । कवि आलोक खनाल बधाईको नयाँ प्रदेशमा उभिइसकेका छन् ।”

र यो म देश भएको छैन् कविताको एक अंश ः
आमा !
म देश भएको छैन
भन्नेहरुले भनिसके
देशको आकाशमा रातहरु झरेर
बहिनीको रगतले झन्डा पोतेपछि
मैले जुनको कविता लेख्न छोडिदिएँ ।
ããã

(कृति ः म देश भएको छैन
कवि ः आलोक खनाल
प्रकाश ः दामोदर पुडासैनी प्रतिभा पुरस्कार कोष, काठमाण्डौँ
संस्करण ः पहिलो २०७५ भदौँ
मुल्य ः रु. १५०)

तपाईको प्रतिक्रिया