चन्दन रौनियार सुनसरी मंसिर५/प्रदेश नम्बर १ स्थित सुनसरीको दुहबीमा मोहम्मद फिदा हुसेनको गोली हानी हत्या भएको विरोधमा स्थानीयले गृहमन्त्री रामबहादुर थापा बादलको राजीनामा माग गरेका छन् । विराटनगर इटहरी सडक खण्डमा मृतकको शवसहित प्रदर्शनमा उत्रिएका उनीहरुले हत्यामा संलग्नलाई २४ घण्टाभित्र सार्वजनिक गर्न पनि माग गरेका छन् । दुहबी–९ मा सञ्चालित जय बाबा इँटा उद्योगका सुपरभाइजरसमेत रहेका हुसेनको बुधबार विहान साढे ६ बजे गोली हानी हत्या भएको थियो । मोटरसाइकलमा आएका दुर्इ व्यक्तिले दुहबी बजारभन्दा केही पर नहरको डिलमा उनीमाथि गोली हानेका थिए । हुसेनलार्इ उपचारका लागि विराटनगरको न्यूरो अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको सुनसरीका प्रहरी प्रमुख एसपी राजन अधिकारीले जानकारी दिए । मर्निङवाकमा निस्किएका ५४ वर्षीय हुसेनमाथि कसले र किन गोली हान्यो भन्ने खुलेको छैन । ‘हुसेनमाथि कसले र किन गोली हान्यो भन्ने खुलेको छैन’, एसपी अधिकारीले भने, ‘यसबारे हामीले अनुसन्धान गरिरहेका छौं ।’ मृतक हुसेन दुहबी नगरपालिका–९ का वडाध्यक्ष मेहेदी हुसेनका भाइ हुन् । धेरै संख्यामा आएका प्रदर्शनकारीले सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरुले मृतकलाई शहीद घोषणा गर्नुपर्ने, परिवारलाई उचित राहत दिनुपर्ने, मृतक हुसेन विद्युत प्राधिकरणका जागिरे भएकाले उनको ठाउँमा छोरालाई जागिर दिनुपर्ने मागसमेत गरेका छन् ।स्थानीयले हुसेनको शवलाई गाडीमा राखेर सडकमा प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण विराटनगर इटहरी खण्डमा आवागमन बन्द भएको छ । स्थानीयबासीका अनुसार, दक्षिणतर्फबाट नहरको बाटो हुँदै मोटरसाइकल चढेर आएका दुई व्यक्तिले हुसेनमाथि गोली हानेका थिए । हत्याराहरू सोही बाटो दक्षिणतिरै भागेको स्थानीयको भनाइ छ । मुस्लिम समूदायमाथि लक्षित गरी बारम्बार यस्ता घटना दोहोरिन थालेको भन्दै सो समुदायका अगुवाले चिन्ता व्यक्त गरेका छन् । यसअघि, सुनसरीको हरिनगरा-२ रामनगर भुटाहामा खुर्सिद आलमको यसै गरी गोली हानी हत्या भएको थियो । आलमको हत्या भारतीय समूहले गरेको बताइँदै आए पनि हत्यारा पत्ता लाग्न सकेको छैन ।

तपाईको प्रतिक्रिया