सुनसरी/ जेठ लागेपछि कोशीको जलस्तर समुन्द्र झैं देखिन्छ । श्रीलंका टापु विशाल कोशी नदीले घेरिन्छ । जेठ, असार साउन र भदौ ४ महिना श्रीलंका टापुका बासिन्दाहरुको बाहिरी संसारबाट सम्पर्क विच्छेद हुन्छ । न त बाहिरबाट त्यहाँ कोही पुग्न सक्छन् न श्रीलंका टापुका मानिसहरु गाउँबाट बाहिर निस्कन सक्छन् । कोशीको जलस्तर खतराको सीमाबाट माथि उल्केपछि श्रीलंका टापुका बासिन्दाहरु त्राही त्राहीमा हुन्छन् । सरकारलाई

पनि वर्षयाममा श्रीलंका टापुका नागरिकहरु कुन हालतमा छन् केही थाहा हुँदैन । काठे डुङ्गामा चढेर कोशीको प्रचण्ड वेग छिचोलेर सरकारी सुरक्षा निकायहरु पनि श्रीलंका टापुमा पुग्न सक्दैनन् । श्रीलंका टापुमा मोवाइलको नेटवर्क कमै मात्रमा टिप्छ । आवत जावत मात्र होइन सञ्चार सम्पर्क पनि कहिलेकाही विच्छेद हुन्छ । कोशीको जलस्तर ज्यादै वृद्धी हुँदा सञ्चारमाध्यम हरुले पनि श्रीलंका टापुमा अनिष्ट भयो कि भनेर आशंका सहितको समाचार प्रशारण तथा प्रकाशन गर्ने गरेका छन । सरकारले पनि वर्षांको समयमा यदाकदा झारा टार्न श्रीलंका टापुमाथि हेलिकप्टर उडाएर गाउँको अवस्था बुझ्ने गर्छ ।
श्रीलंका टापुका बासिन्दाहरुले वर्ष लाग्नु अघि नै ४ महिनालाई पुग्ने खाद्यान्न तथा दैनिक उपभोगका सामाग्रीहरु पहिलेनै जोरजाम गरेर राख्नुपर्छ । आगो पार्ने सलाई पनि ४ महिनालाई पुग्ने गरी जोहो गरिराख्छन् । अशोज लगेपछि मात्र सुनसरी र उदयपुर तर्फको हाट बजारमा आवत जावत शुरु हुन्छ । त्यो पनि १७ हौं शताव्दीको शैली

मा कोशी नदी तर्नुपर्छ । अशोजमा पनि कोशीमा पानीको शतह र वहाव अधिक नै हुन्छ । काठे डुङ्गाको वरिपरी दर्जनौ भैंसी बाँधेर कोशी पार गर्नुपर्छ । भैंसीको बलमा डुङ्गाले कोशी नदी पार गर्छ । भैंसी एक आपसमा जुध्यो वा भडकियो भने डुङ्गा डुव्न वेर लाग्दैन । जोखिमको सीमा छैन । हत्केलामा प्राण राखेर श्रीलंका टापुका बासिन्दाहरु कोशी नदी वारपार गर्छन् ।
हिउँदमा पनि कोशी तर्ने सास्तीमा कमी छैन । १२ हजारको हारहारीमा जनसंख्या भएको श्रीलंका टापुमा अहिलेसम्म सरकारले यातायात विकासको नाममा दिएको काठे डुङ्गा छ । त्यही काठे डुङ्गाको सहारामा श्रीलंका टापुका जनता आवत जावत गर्छन् ।

गाउँबाट हिँडेर ४ किलोमिटरको बलौटे वगर पार गरेपछि दिनभरी कोशी किनारमा डुङ्गा कुरेर बस्नुपर्छ । गाउँ फर्किन पनि अर्को किनारमा दिनभरी डुङ्गा कुरेर बस्नुपर्छ । डुङ्गामा मानिस मात्र होइन पशुधन र सर सामान पनि उत्तिकै लोड हुन्छ । डुङ्गा नदीमा हेलिएपछि पारघाट लाग्ला भन्ने विस्वाश हुँदैन । धेरै पटक डुङ्गा बीच नदीमा पल्टिदा धेरै जनधन गुमेको छ ।

रातविरात बिरामी पर्नुको अर्थ हो मर्नु । कोशी तारेर अस्पताल लैजान सक्ने सम्भावना नै हुँदैन । वर्षयाममा वा रातको समयमा सुत्केरी व्यथा लाग्दा अस्पताल पु¥याउँन सकिदैन । नजिकै गढैया गाउँमा स्वास्थ्य चौकी छ । त्यहाँकी अनमी नै उनीहरुका लागि डाक्टर हुन् । तर अनमी पनि नियमित रहँदिनन् ।
टापुमा मासिक औसत १०÷१२ महिला सुत्केरी हुन्छन् । गर्भावस्थामा चार पटक नियमित जँचाउने र स्वास्थ्य केन्द्रमा बच्चा पाउने सरकारी नारा छ । गर्भावस्था जँचाएको र सुत्केरी भएको वापत पाउने अठार सय सरकारी भत्ता दिइन्छ । तर श्रीलंका टापुका महिला भने राज्यबाट पाउने त्यो सुविधाबाट पनि वञ्चित छन् । ‘आमा र बच्चा सकुशल भए हाम्रो अंश र मृत्यु भए भगवानको अंश’ उखानै प्रचलित छ श्रलिंका टापुमा । चारतर्फ कोशीले घेरिएको श्रीलंका टापु – गाई भैंसीले तानेर पार लगाउँछ डुङ्गा-(तस्विर सहित)

तपाईको प्रतिक्रिया