दशैंको आगमनको संकेत हुन आकाशमा उड्ने चंगाहरु । आकाश र धर्तीको मिलनको माध्यम पनि मानिन्छ चंगालाई । धार्मिक मान्यताको विश्वास गर्ने हो भने अब पानी पुग्यो भनेर इन्द्रलाई सन्देश पठाउने वाहक पनि हो चंगा । तर काठमाडौं मात्र नभई सिंगो नेपाली आकाशमा चंगाको उडान दुर्लभ बन्दै गएको छ । चंगाहरु उड्न छाडेपछि चंगा र लट्टाईको व्यापारमा मन्दी आएको छ । चंगा उडाउन रहर गर्ने युवा पुस्ता तथा केटाकेटी मोवाईल र इन्टरनेटमा कोठा भित्रै रम्न थालेपछि चंगा चुडिएको चंगा झै कतै विलिन बनेको जस्तै भएको छ । नेपाली समाजमा चङ्गा उडाउनुलाई मनोरञ्जनमा मात्र सीमित राख्न मिल्दैन । चंगा उडाउनुको धार्मिक, सामाजिक तथा बैज्ञानिक कारणहरु कायम नै छ । चंगा उडाउनुलाई शुभसगुनकारूपमा मान्ने संस्कार कायम छ । लोककथा र किंवदन्ती अनुसार, वर्षायाममा परेको प्रशस्त पानी पछि मौसमले शरद ऋतुको स्वागत गर्दै धान पाक्ने बेला पनि भइसकेको हुन्छ । त्यसैले जलका देउता इन्द्रलाई पानी पुग्यो प्रभू भनेर चङ्गा उडाएर सन्देश पठाउने गरेको विश्वास गरिन्छ । त्यसै गरि चङ्गालाई पृथ्वी र स्वर्गको सम्पर्कको माध्यमकोरुपमा पनि लिइन्छ ।

तपाईको प्रतिक्रिया