मेघराज तामाङ

संखुवासभा । स्वास्थ्यको लागी खेलकुद, राष्ट्रको लागी खेलकुद, मादीको पहिचान फुटबल विकासको अभियान भन्ने मुल नाराका साथ आमन्त्रीत दोस्रो मादी नगर रनिङ कप पुरुष फुटबल आइतबारबाट सुरु भएको छ । आज भएको पहिलो खेलमा अमर ज्योती क्लव मोरङ विजयी भएको छ । मोरङ र आयोजक यू १७ बिच भएको खेलमा मोरङका अंकित राईले व्यक्तिगत ३ गोल गर्दै टिमको पक्षमा जीत दर्ता गरेको हो । मादी नगरपालिकाको प्रायोजन तथा हाङ्थुम क्लव मादीको आयोजनामा आज सुरु भएको खेलमा मोरङ, सुनसरी, ताप्लेजुङ र संखुवासभा सहित १० टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा विजेता हुने टिमले तीन वर्षे रनिङ शिल्ड नगद १ लाख ५ हजार र उप विजेताले ट्रफी नगद ८० हजार साथमा मेडल र प्रमाण–पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
जिल्लामा हुने ठूला फुटबल प्रतियोगिता मध्ये अरुण भ्याली रनिङ शिल्ड र मादी नगर कप मूख्य प्रतियोगिताको रुपमा लिइन्छ । यसअघि एड्भान्स क्लव मानेभञ्ज्याङले प्रदेश नं. १ स्तरीय प्रतियोगिताको आयोजना गरेको थियो । त्यसयता अन्तर जिल्ला स्तरीय प्रतियोगिताको आयोजना हाङ्थुम क्लवले गरेको क्लवका अध्यक्ष मोहनमणी दाहालले बताए ।
सामाजिक सद्भाव र युवा एकताका लागि खेलकुद मूख्य आधार भएको तथा नगरको पहिचानका लागि खेलको आयोजना गरिएको अध्यक्ष दाहालले बताए । प्रतियोगिता चैत्र १ गते सम्म चल्ने छ ।

तपाईको प्रतिक्रिया