विर्तामोड । झापा गोल्डकपको तेस्रो संस्करण फागुन १९ देखि सुरु हुने भएको छ । रमपम झापा ११ फुटवल क्लवको आयोजनामा फागुन १९ देखि २८ गतेसम्म सो प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिता आयोजक समितिले मङ्गलवार विर्तामोडमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी तीब्र पारिएको जनाएको छ । विर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा हुने प्रतियोगिता नक आउटका आधारमा सञ्चालन हुन्छ ।

प्रतियोगितामा नेपालका नौ र भारतको एक गरी १० वटा टिमको सहभागिता रहने आयोजक समितिका अध्यक्ष महेन्द्रकुमार गिरीले जानकारी दिनुभयो । प्रतियोगितामा झापा ११, रुपन्देही, मनाङ मस्र्याङदी, हिमालय शेर्पा, सुदुरपश्चिम ११, थ्रीस्टार र विभागीय तीन वटा टीमले सहभागिता जनाउने छन् । भारतको सिक्किम युनाइटेड क्लव पनि सहभागी हुनेछ ।

‘पहिलो र दोस्रो संस्करणको अपार सफलताले हामी अझै उत्साहित भएका छौँ गिरीले भने । झापा गोल्डकप हाम्रो प्रतिष्ठान र गौरब हो गिरीले भने ।

मोफसलमा सर्वाधिक राशीको यो गोल्डकपमा आयोजक समितिले बर्सेनि पुरस्कारको रकम बृद्धि गर्दै लगेको छ । अघिल्लो वर्ष विजेता टीमले सात लाख रुपैयाँ पुरस्कार पाएको थियो । यसवर्ष बिजेता टीमले १२ लाख ५१ हजार रुपैयाँ पुरस्कार पाउनेछ । गतवर्ष उपबिजेता टीमले तीनलाख ५० हजार रुपैयाँ पाएको थियो । यसवर्ष छ लाख पुरस्कार पाउनेछ ।

दर्शकको उपस्थिति बढ्दै जाँदा आयोजकले गेटमनी सङ्कलन पनि उच्च हुने जनाएको छ । यसवर्ष टिकट बिक्रीबाट ४२ लाख रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखिएको आयोजक समितिका कोषाध्यक्ष केदार गिरीले बताउनु भयो । यसवर्ष प्रतियोगिता सञ्चालनका लागि एक करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया