काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराज आज अपराह्न काठमाडौं आउँदै छिन् । वायुसेनाको विशेष विमानमा दुई दिनका लागि नेपाल आउन लागेकी उनीसँग नवनियुक्त विदेशसचिव विजय केशव गोखले र सहसचिवद्वय सुधाकर दलेला र रबिस कुमार पनि हुनेछन् ।

स्रोतका अनुसार औपचारिक घोषणा नगरिए पनि प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रूपमा स्वराजको भ्रमण हुन लागेको बताइएको छ । उनी मोदीको विश्वास पत्रका पर्दछिन् ।

विदेशमन्त्री स्वराज अपराह्न साढे ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ । उनलाई विमानस्थलमा परराष्टसचिव शंकरदास बैरागी र भारत डेस्क हेर्ने सहसचिव भृगु ढुंगाना र प्रमुख शिष्टाचार महापाल दीपक अधिकारीले स्वागत गर्नेछन् ।

स्वराजले आज नै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग रात्रीभोजसहित भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसै गरी उनको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र मधेशी दलका नेतासँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ ।

विदेशमन्त्री स्वराजले शुक्रवार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीसँग भेटवार्तापछि उनले शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

परराष्टमन्त्रालयले बुधवार विज्ञप्ति जारी गरी स्वराजको भ्रमण हुन लागेको औपचारिक जानकारी दिएको छ । भारतीय विदेश मन्त्रालयले भने सोमवारै स्वराजको भ्रमण सार्वजनिक गरिसकेको छ ।

तपाईको प्रतिक्रिया