धरान साउन २/ त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानले ७० प्रतिशत परीक्षा शुल्क बढाएको विरोधमा पूर्वाञ्चल इन्जिनियरिङ क्याँम्पसका दुई विद्यार्थीको आमरण अनसनको आज पनि अनसन जारी रहेको छ ।
उनीहरुको अनसनलाई विद्यार्थीहरुले समर्थन जनाउँदै र्याली निकालेका छन् । धरान–८ स्थित क्याम्पस हाताबाट सुरु भएको र्याली भानुचौकमा आएर टुंगिएको थियो । शैक्षिक माफियालाई कारबाही गर, अनसनमा बसेका नेपाल विद्यार्थी संघका सागर अधिकारी र अखिल क्रान्तिकारीका कृष्णराज न्यौपानेको प्राण रक्षा गर् भन्ने नाराका साथ विद्यार्थीहरु र्यालीमा संलग्न थिए । अधिकारी र न्यौपाने बिहीबार २ बजेदेखि आमरण अनसन बसेका छन् । उनीहरुले बढेको शुल्क फिर्ता हुनु पर्ने माग राखेका छन् । जवसम्म बढेको शुल्क फिर्ता हुँदैन तवसम्म आन्दोलन जारी रहने बताएका छन् । विद्यार्र्थीले त्यसैको समर्थनमा र्याली निकाल्दै क्याम्पस प्रशासनलाई दवाव सिर्जना गरेका छन् । क्याम्पस प्रमुख जितेन्द्र चौधरीले भने क्याम्पसले पूरा गर्न सक्ने माग नभएकाले क्याम्पसले यहाँको बस्तुस्थितिको बारेमा जानकारी गराएर काठमाडौं डिन कार्यालयमा पठाएको बताउनुभयो । क्याम्पससँग सम्बन्धित अन्य तीनवटा मागहरुको बारेमा भने पूरा गर्ने चरणमा रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया