इटालियन सिरी ‘ए’ को अन्तिम खेलमा नेपोलीले लाजियोमाथि सहज जित हात पारेको छ । घरेलु मैदानमा नेपोलीले लाजियोमाथि ३–१ को सहज जित निकालेको हो ।

नेपोलीको जितमा फावियन, लोरन्जो इन्सिग्ने र माटियो पोलिटानोले गोल गरे । लाजियोका चिरो इम्मोबिलेले एक गोल फर्काए । सान पाओलो नेपोलीमा शनिबार राति भएको खेलको नवौं मिनेटमा फावियनको गोलबाट घरेलु टोलीले खेलमा अग्रता बनाएको थियो । उनले ड्रिएस मेर्टिन्सको पासमा गोल गरेका थिए ।

२२औं मिनेटमा सिरो इम्मोवाइलले सिरी ‘ए’ मा सिजनको ३६औं गोल गरेपछि खेललाई १–१ गोलको बराबरीमा ल्याए । ५४औं मिनेटमा लोरेन्जो इन्सिग्नेले पेनाल्टीमार्फत गोल गर्दै नेपोलीलाई खेलमा २–१ को अग्रता दिलाए ।

विपक्षी खेलाडीले मेर्टिन्सलाई पेनाल्टी बक्समा लडाएपछि प्राप्त पेनाल्टीमा लोरेन्जोले गोल गर्न सफल भएका थिए ।  इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा माटियो पोलिटानोले गोल गर्दै नेपोलीलाई ३–१ को सहज जित दिलाए ।

जितका बावजुत पनि नेपोली अर्काे सिजनको युरोपियन लिगमा छनोट हुन असमर्थ बन्यो । नेपोली अब अर्काे सिजन इटलीको घरेलु फुटबलमा सीमित बनेको छ । नेपोलीले ३८ खेलबाट ६२ अंक जोड्दै सातौ स्थानमा लिग अन्त्य गर्‍यो । लाजियो ७८ अंक जोडेर चौथो स्थानमा सीमित बन्यो । इम्मोबिले भने लिगमा ३६ औं गोलसँगै लिगको सर्वाधिक गोलकर्ता बन्नुका साथै युरोपेली गोल्डेन बुट समेत जित्न सफल रहे ।

तपाईको प्रतिक्रिया