धनकुटा । धनकुटा जिल्लाको छथरजोरपाटी गाउँपालिकाले वसाई सराई गरि जाने क्रमलाई रोक्न दुहुना गाई उपहार दिन शुरू गरेको छ । स्थायी रुपमा बसाइँ सरी आउने परिवारलाई दुहुनो गाई उपहार दिन थालिएको छथरजोरपाटि गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बुले जानकारी दिनुभयो । उत्पादन मुलक जमिन बझिन गएकाले बाँझो जग्गाको सदुपयोग गर्न यस चालू आर्थिक वर्षमा छथरजोरपाटी गाँउपालिकामा स्थायी रुपमा बसाइँ सरी आएका ९ जनाको परिवारलाई दुहुना गाई उपहार कार्यक्रम अनुरूप दिदै आएको छ । उहाँका अनुसार बसाइँ सरी आएका नौ घर परिवारलाई निःशुल्क गाई वितरण गरिएको हो। दुहुना गाई उपहार प्राप्त गर्न कम्तिमा गाउँपालिकाभित्र स्थायी रुपमा बसाइँ सरी आएर तीन महिना भएको हुनु पर्नेछ । बसाइँ सरी आएका परिवारलाई तत्कालको लागि जीविकोपार्जनमा समस्या पर्ने र दुहुनो गाई भएपछि तत्काल दुध बेचेरै पनि केही आम्दानी हुने भएकाले यो कार्यक्रम अघि सारिएको अध्यक्ष लिम्बूको भनाइ छ । गाई उपहार कार्यक्रमले बसाई सराई गरि आएका स्थानियलाई प्रोत्साहन का साथै बझिएका जग्गा मलिलो हुने र उत्पादन बढ्ने भएकाले कृषिबाटै गाउँपालिकाको मात्र नभएर जिल्लाकै आर्थिक संमृद्दि हुने देखिन्छ । चालू आर्थिक वर्षमा यस गाउँपालिकामा महालक्ष्मी नगरपालिकाबाट २, पाख्रीबास नगरपालिकाबाट १ र धनकुटा नगरपालिकाबाट ९ घरपरिवार बसाइँ सरी आएका छन् ।
गाउँपालिकाले जिल्ला भित्र वा बाहिरी जिल्ला जहाँसुकैबाट बसाइँ सरी आएको भए पनि ती परिवारहरुलाई दुहुनो गाई उपहार दिने जनाएको छ । गाईको गाउँपालिकाले नै निःशुल्क बीमाको समेत व्यवस्था गरेको छ ।यसैबीच गाउँपालिकाले खाली तथा बाँझो रहेका जग्गा सदुपयोग तथा कृषि व्यवसायलाई व्यवसायिकरण गर्दै कृषि उत्पादन तथा उत्पादकत्व बढाउन कृषि प्रवर्द्धन स्रोत भर्ना सापटी कार्यक्रमका लागि २० लाख रुपैयाँ छुट्याइएको छ । यस्तै कृषि क्षेत्रमा किसानलाई प्रोत्साहन गर्न सय मुरी धान, बीस हजार रुपैयाँ बराबरको सम्मान सहितका कार्यक्रमहरु अगाडि ल्याएको गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया