१ नम्बर प्रदेश प्रहरी कार्यालयमा नयाँ डिआइजी ईश्वर बाबु कार्की आउन साथ उनले गरेको एउटा आदेशले अहिले प्रदेश प्रहरी वृत्तमा ठुलै हलचल मच्चिएको छ । वैशाख ११ गतेबाट प्रदेश प्रहरी प्रमुखको कमान्ड समालेका कार्कीको पहिलो आदेश थियो ‘काजमा बसेका सबै प्रहरीलाई आ आफ्नो दरबन्दीमा हाजिर हुने’ ।

विभिन्न कारण देखाई तथा सोर्सफोर्सले दरबन्दी अर्को ठाउँ भए पनि पायक पर्ने ठाउँमा काज मिलाएर बसेका प्रहरीका लागि भने यो आदेश अहिले ‘भुईँचालो’ गए जतिकै भएको छ ।

प्रहरीका हरेक जसो कार्यालयमा काज विकृति छ । १ नम्बर प्रदेश प्रहरीमा करिब १८ सय जना काजमा कार्यरत रहेको तथ्याङ्क छ । यसरी काज मिलाएर बस्ने प्रहरीहरू घुमुवा (सादा पोसाक), मुद्दा तथा प्रशासन शाखामा बढी कार्यरत छन् । असई, सई, हवलदार पदका जुनियर अफिसरहरू बढी काजमा बस्ने गरेका छन् ।

डिआइजी कार्कीको निर्देशन अनुसार अहिले १४ जिल्लाका जिल्ला प्रहरी कार्यालय मार्फत काज मिलाएर बस्ने सबैलाई रमाना बुझ्न र हाजिर हुन ताकेता गरिएको छ ।

तर डिआइजी कार्कीको ताकेता गर्ने शैली भने बिलकुल फरक देखिएको छ । सम्बन्धित जिल्ला प्रहरी कार्यालयबाट काज बसेका प्रहरीलाई लिन सोही जिल्लाको गाडीले ल्याउने लाने व्यवस्था मिलाइएको छ ।

डिआइजीले १४ जिल्लालाई असार २५ सम्म काज ‘क्लियर’ गर्ने उद्घोष गरेका छन् ।

अहिले काजमा बसेका प्रहरीहरू आनाकानी गदै आफ्नो दरबन्दी भएका कार्यालयमा हाजिर हुँदै छन् । तर अझै कतिपय प्रहरीहरू ‘हाई पावर’ लगाएर भए पनि काज मिलाउन प्रयासरत छन् ।

राजनीतिक दलका नेतादेखि नजिकका उच्च प्रहरी अधिकारीहरूलाई काजमै बस्ने व्यवस्था मिलाइदिन प्रहरीहरू सोर्स लगाइरहेका छन् ।

एकै ठाउँ लामो समयसम्म बसेका प्रहरीबाट ‘रिजल्ट’ राम्रो नआउने डिआइजी कार्कीको अडान छ । नेपाल प्रहरीमा सामान्यतः प्रहरी निरीक्षकदेखि तल दर्जाको दुई –दुई वर्षमा सरुवा हुन्छ । तर, केही प्रहरी दशकभन्दा लामो समयदेखि एउटै कार्यालयमा बस्दै आएका छन् ।

काज मिलाएर बसेकाहरू प्रहरीलाई दरबन्दी तोकेको ठाउँमा पठाउने अभियान यस अघिका डिआइजीले कम प्राथमिकता राखेका थिए । तर कार्की आउन साथ प्रहरीबाटै आन्तरिक शुद्धिकरण अभियान थाल्ने रणनीति अन्तर्गत काज प्रवृत्ति रोक्न निर्देशन दिएका थिए ।

‘डिआईजी साँवको निर्देशनले अहिले प्रहरी वृत्तमा हलचल मच्चिएको छ’, डिआइजी कार्यालयका एक प्रहरी अधिकृत भन्छन् ‘यो ऐतिहासिक कार्य भएको छ’ । यसले प्रहरीको काम कर्तव्यमा थप निखार ल्याउने अपेक्षा गरिएको छ ।

सुनसरीमा मात्र १३९ जना

जिल्ला प्रहरी कार्यालय सुनसरीको दरबन्दी ९७८ हो । तर जिल्लामा १०७८ बढी प्रहरी कार्यरत छन् । त्यसमा १३९ जना काजमा आएका प्रहरीको सङ्ख्या छ । डिआइजी कार्यालयबाट काज बसेकालाई रमाना बुझ्न निर्देशन भएपछि १३९ जनालाई उनीहरूको दरबन्दी भएका ठाउँ फिर्ता पठाउन थालिएको छ । शुक्रवारसम्म सुनसरीबाट ५१ जनाले रमाना बुझिसकेका छन् भने बाँकी रहेकालाई असार २५ सम्म पठाउने तयारी गरिएको छ ।

यस्तै सुनसरी जिल्ला दरबन्दी भएर विभिन्न जिल्लामा काजमा बसेका १२९ जना मध्ये २९ जना सम्बन्धित दरबन्दी भएका कार्यालयमा हाजिर भइसकेको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।

‘हिजोका दिनमा पनि काज फर्काउने अभियान नचलेको हैन, एक जिल्लाले अर्को जिल्लाका प्रहरीलाई फर्काउने कुरामा राम्रो समन्वय नहुँदा बिचमै रोकिन्थ्यो’ उनले भने ‘तर अहिलेको निर्देशनमा स्पष्ट छ, काजमा बसेकाहरूलाई लिन स्वयम जिल्लाको प्रहरीको गाडी परिचालित भएको अवस्था छ’ ।

‘हामीले असार महिनासम्म काज प्रवृत्ति शून्यमा झार्ने रणनीति बनाएका छौ । यसमा सुनसरी प्रहरी पूर्ण कार्यान्वयनको पक्षमा छ’ ।

साभार:अपराध न्युज

तपाईको प्रतिक्रिया