प्रदेश १ सरकारले कोरोना भाईरसको रोकथाम तथा प्रतिरक्षाका लागी हालसम्म भएका कार्यहरुको विस्तृत प्रतिवेदन प्रस्तुत गरेको छ । शुक्रबार विराटनगरस्थित उद्योग सङ्गठनमा पत्रकार सम्मलेनको आयोजना गर्दै प्रदेश सरकारले प्रतिवेदन प्रस्तुत गरेको हो ।

त्यस्तै कोरोना भाईरसको रोकथाम तथा नियण्त्रणका लागी प्रदेश सरकारले ‘नोभल कोरोना भाईरसको परिचय तथा रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्था सम्बन्धी प्रदेश सरकारको कार्य योजना’ समेत तर्जुमा गरि कार्यान्यनमा ल्याएको प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले बताउनुभयो ।

त्यस्तै कोरोना भाईरसको महामारीबाट उत्पन्न राष्ट्रिय चुनौतीलाई प्रदेशस्तरमा सामना गर्न प्रदेश १ सरकारले ‘होलियास्टिक अप्रोच’ को अवधारणा बमोजिम कार्य गरिरहेको छ । यस अवधारणा बमोजिम प्रदेश सरकारले नेपाल सरकार तथा स्थानीय तहहरुसँगको सहकार्यमा निजामती प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई आवश्यक जिम्मेवारीसहित समन्वयात्मक रुपमा परिचालन गरेको मुख्यमन्त्री राईले जानकारी दिनुभएको छ ।

त्यसैगरी प्रदेश १ सरकारले गत बैशाख ३० गते मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको ‘कोभिड क्राईसिस म्यानेजमेन्ट सेन्टर’ को प्रादेशिक समितिको बैठकबाट भारतमा लकडाउन खुकुलो भए लगत्तै २५ हजार नेपाली नागरिकहरु प्रदेशमा भित्रिनसक्ने सम्भावना रहेको अनुमान गरेको छ ।

सो सम्भावनालाई मध्यनजर गर्दै प्रदेश १ सरकारले नेपाल भारत सीमाका पशुपतिनगर, काँकडभिट्टा, भद्रपुर, रङ्गेली, रानी र भन्टाबारी लगायतका क्षेत्रहरुमा होल्डिङ सेन्टर स्थापना गरेको छ । होल्डिङ सेन्टर स्थापना गरि प्रदेश सरकारले विदेशबाट आउने नागरिकहरुको व्यवस्थापन गर्न स्पष्ट जिम्मेवारीसहितको कार्यविधि र सङ्क्रमण परीक्षणको योजनाहरु पनि अघि सारेको छ ।

नोभल कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागी प्रदेश १ सरकारले प्रारम्भिक चरणदेखि नै योजनाबद्ध कार्ययोजना बनाई समन्वयात्मक रुपमा कार्य गर्दै आएको छ । प्रदेश सरकारले कोरोनाको भाईरसको उपचार नियन्त्रणका लागि कोरोना जनसुरक्षा कोष तथा क्वारेन्टाईनस्थलको स्थापना, पिसिआर पद्धतिबाट कोरोना परीक्षण, आईसोलेशन वार्डको स्थापना र सङक्रमितलाई कोरोना बिशेष अस्पतालमा उपचारको प्रबन्ध लगायतका कार्यहरु गरेको जनाएको छ ।

यसका अतिरिक्त कोरोना भाईरसको रोकथाम तथा प्रतिरक्षाका लागी प्रदेश १ सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा हाल ३३ करोड ५४ लाख १ हजार ९ सय ४१ रुपैयाँ ४० पैसा जम्मा भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्रमुख सचिव दिनेश भट्टराईले बताउनुभएको छ । उहाँले प्रदेश सरकारको उक्त कोषबाट कुल २७ करोड ३३ लाख ८९ हजार ८ सय ९० रुपैयाँ बराबरको रकम विभिन्न मन्त्रालयहरु मार्फत् निकासा भई खर्च हुने क्रममा रहेको जानकारी दिनुभएको छ ।

प्रदेश सरकारको कोरोना जनसुरक्षा कोषमा भने प्रदेश सरकारको तर्फबाट २५ करोड, नेपाल सरकारको तर्फबाट ४ करोड, बैङ्क तथा वित्तीय संस्थाहरुको तर्पmबाट १ करोड ८६ लाख २ हजार २ सय ३६, प्रदेशका पदाधिकारी तथा कर्मचारीहरुको तर्फबाट १ करोड ६४ लाख ६० हजार ९ सय ७५ रुपैयाँ ८० पैसा, उद्योगी व्यावसायीहरुको तर्फबाट ७४ लाख ८० हजार र अन्य विभिन्न व्यक्ति तथा संस्थाहरुको तर्फबाट २८ लाख ५८ हजार ७ सय ३० रुपैयाँ गरी ३३ करोड रकम जम्मा भएको थियो ।

यसका साथै प्रदेश सरकारले प्रदेश नं. १ का विभिन्न अस्पतालमा हालसम्म कूल ५ सय ८८ जनाको उपचार भईरहेको तथा ४ सय जना निको भई डिस्चार्ज भईसकेको प्रस्तुत प्रतिवेदनले देखाएको छ । जसमा धरानस्थित बि.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २८ महिला र ५ पुरुष गरि ३३ जना, विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा १९ महिला र १३ पुरुष गरि ३२ जना, गोठगाँउस्थित कोभिड–आईसोलेशन अस्पतालमा पुरुष १ सय ५ जना र उदयपुरको चौदण्डीगढीमा ८ महिला र १० पुरुष गरि १८ जनाको उपचार भईरहेको छ ।

त्यसैगरी प्रदेश नं. १ मा सञ्चालित विभिन्न प्रयोगशालाहरूबाट हालसम्म २५ हजार ३ सय ४० जनाको स्वाबको नमुना सङ्कलन गरिएकोमा ६ सय १५ जनाको पि.सि.आर पद्धतिबाट कोरोना परीक्षणको नतिजा पोजिटिभ देखिएको प्रमुख सचिव भट्टराईले स्पष्ट पार्नुभएको छ । जसमा २३ हजार ९ सय ७० जनाको नतिजा नेगेटिभ देखिएको र ७ सय ५५ जनाको परीक्षणको नतिजा आउन बाँकी रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया