संखुवासभा । पूर्वराज्यमन्त्री तथा कांग्रेसका नेता दीपक खड्काले संखुवासभामा कार्यरत २५ पत्रकारको १ लाख रुपैयाँ बराबरको कोरोना बिमा गरिदिएका छन् ।

उनले १ लाख रुपैयाँ भुक्तानी दाबीसहितको कोरोना बिमा गरिदिएका हुन् । नेपाल पत्रकार महासंघले उपलब्ध गराएको क्रियाशील २५ जना पत्रकारको सूची अनुसार कोरोना बिमा भएकाे छ ।

महासंघका अध्यक्ष इन्द्र गिरीले महासंघका २५ पत्रकार जिल्लाका ८ वटा रेडियो, अनलाइन, स्थानीय पत्रिका र राष्ट्रिय स्तरका पत्रपत्रिकामा कार्यरत रहेकाे बताए ।

पत्रकारकाे संकटका बेला १ लाख रुपैया भुक्तानी दाबीसहितको बिमा गरिदिएकामा पूर्वमन्त्री खड्काप्रति अध्यक्ष गिरीले आभार समेत व्यक्त गरे । फ्रन्टलाइनमा बसेर पत्रकारिता गरिरहेका २५ पत्रकारलाई कोरोना बिमाले हौसला मिलेको छ ।

यसअघि पनि खड्काले पत्रकार महासंघलाई मास्क र सेनिटाइजर उपलब्ध गराएका थिए । २५ पत्रकारको स्वाब परीक्षणमा पोजेटिभ देखिए महासंघले सिफारिस गरेको आधारमा बिमा कम्पनीले १ लाख भुक्तानी गर्ने छ । खड्काका तर्फबाट बिमालेख कांग्रेस नेता अनन्तकुमार गौलीले महासंघका अध्यक्ष गिरीलाई हस्तान्तरण गरे ।

यसैबीच, पूर्वराज्यमन्त्री खड्काले जिल्ला कारागारका कैदीको प्रयोजनका लागि १ हजार लिटरको पानी ट्याङ्की उपलब्ध गराएका छन् । २५ जना क्षमताको कारागारमा अहिले १ सय २० जना कैदीबन्दी तथा थुनुवा बसेको थाहा पाएपछि खड्काले ट्याङ्की उपलब्ध गराएको बताए ।

कारागारका जेलर विनोद अधिकारीले ट्याङ्की अभाव भइरहेको बेला कैदीबन्दीका लागि पानीको जोहो गर्न सजिलो भएको बताए । उनले पूर्व राज्यमन्त्री खड्कालाई धन्यबाद व्यक्त गरे । खड्काले उपलब्ध गराएको पानी ट्याङ्की कांग्रेस कार्यकर्ता ईश्वर कटुवालले जेलर अधिकारीलाई बुधबार हस्तान्तरण गरेका थिए ।

तपाईको प्रतिक्रिया