इटहरी : एभरेष्ट बैंकका कर्मचारीले इटहरीका अतिविपन्न, असहाय र दैनिक ज्याला मजदुरी गर्ने परिवारलाई राहत सहयोग गरेका छन् । उनिहरुले सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं १० का ती परिवारलाई राहत सहयोग गरेका हुन् । उनिहरुले इटहरी वडा नं १० कार्यलयको सहकार्यमा वडामा रहेका अतिविपन्न, असहाय तथा दैनिक ज्याला मजदुरी गर्ने परिवारलाई सहयोग गरेका हुन् ।
त्यस वडामा रहेका ४५ परिवारलाई बैंकका कर्मचारीले चामल, तेल, नुन, दाल लगायतका दैनिक उपभोग्य सामाग्री वितरण गरेका छन् । यसका साथै सरसफाईमा विशेष ध्यान दिन प्रेरित गर्दै बैंकका कर्मचारीले हात धुने साबुन वितरण गरेका छन् ।
लकडाउनले गर्दा समस्यामा परेका ति परिवारलाई सहयोग गरिएको बैंकका प्रदेश १ प्रमुख पुर्ण बहादुर श्रेष्ठले जानकारी दिनुभयो । उहाँले इटहरी उपमहानगरपालिका वडा नं १० का वडाध्यक्ष प्रकाश चौधरीको उपस्थितिमा समस्यामा परेका परिवारलाई आत्यावश्यक सामाग्री सहयोग गरेको जानकारी दिनुभयो । साथै सो कार्यक्रममा बैंकका इटहरी र धरान शाखाका प्रबन्धकहरु क्रमश. कृष्ण चन्द्र कर्ण र लक्ष्मण आचार्य लगाएतका शाखाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
बैंकका कर्मचारीले देशभरि नै लकडाउनका कारण समस्यामा परेका परिवारलाई सहयोग गर्दै आएका छन् । बैंकले राहत वितरण गर्दै समस्यामा परेका घरपरिवारलाई थोरै भएपनि सहयोग मिल्ने विश्वास लिएको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत सात वटै प्रादेशिक कार्यालयमार्फत प्रदेश सरकारलाई ६ लाखका दरले ४२ लाख रुपैयां र केन्द्रीय सरकारलाई ६० लाख सहित १ करोड २ लाख रुपैयाँ सहयोग गरेको छ ।

तपाईको प्रतिक्रिया