मोरङ । मोरङको सुन्दरहरैंचास्थित सलकपुर सामुदायीक वन क्षेत्रमा लकडाउनको मौका छोपी सिकार गर्न गएका केही सिकारी र सुरक्षाकर्मी विच मुठभेड भएको छ  ।

सो क्रममा २ थान भरुवा बन्दुक सहित ३ जना सिकारीलाई नियन्त्रणमा लिइएको छ ।
सशस्त्र प्रहरी बल हाइवे सुरक्षा पोष्ट सलकपुरको टोलीसहित पुगेको सब डिभिजन वन कार्यालय सलकपुरका वन रक्षकहरुको टोली र शिकारीहरुको समूहबीच मोरङको सुन्दरहरैंचास्थित सलकपुर सामुदायीक वन क्षेत्रमा भूठभेड भएको हो । मुठभेडमा दुवैतर्फबाट गोली हानाहान भएको छ । शिकारीहरुको तर्फबाट ९ राउण्ड फायर भएको छ भने वन रक्षकले ७ राउण्ड फायर गरेका छन् । यस्तै सशस्त्र प्रहरीले १ राउण्ड हवाइ फायर गरेको छ । सशस्त्र प्रहरी बल हाइवे सुरक्षा पोष्ट सलकपुरका प्रमुख प्रहरी निरीक्षक विदुर भट्टराईले शिकारीहरुले नजिकै आगलागी भएको छ भनेर गलत सूचना दिएर झुक्याउने प्रयास गरेपनि संकास्पद लागेकाले कारवाहीमै केन्द्रित भएकाले उनीहरुलाई पक्राउ गर्न सफल भएको जानकारी दिनुभयो ।
सशस्त्र प्रहरी र वन रक्षकको टोलीसँग ३५,४० जनाको संख्यमा रहेका शिकारीहरुको मुठभेड हुँदा प्रहरीले ३ जना शिकारीलाई २ थान भरुवा बन्दुकसहित नियन्त्रणमा लिन सफल भएको उहाँले जानकारी दिनुभयो । सो कारवाहीमा संलग्न सशस्त्र वन सुरक्षा शाखा सलकपुरका इञ्चार्ज सुवेदार कुमार बस्नेतले ३५÷४० जनाको संख्यामा रहेका शिकारीहरुले चेतावनी दिंदा दिंदै सुरुमा फाइरिङ खोलेपछि जवाफी फाइरिङ गरिएको जानकारी दिनुभयो ।
जवाफि कारबाहिपछि केराबारी–८ बस्ने ३७ वर्षीय डम्बर बहादुर जोगी, केराबारी–८ कै २७ वर्षीय किशन कार्की र झापाको बुद्धशान्ती गाउँपालिका–३ धाइजनका २७ वर्षीय किरण धिमाललाई नियन्त्रणमा लिएको सब डिभिजन वन कार्यालय सलकपुरका प्रमुख वन अधिकृत लालबहादुर माझीले जानकारी दिनुभयो । उनीहरुलाई वन ऐन र खर खजना सम्बन्धि २ वटा मुद्दा दायर गरेर कारवाही अघि बढाइने उहाँले जानकारी दिनुभयो ।
उनीहरुको साथबाट २ थान भरुवा बन्दुक, भरुवा बन्दुकमा लाग्ने बारुद २ सयदेखि ३ सय ग्राम, बन्दुकमा लाग्ने व्यारिङको गोली, केप २ थान र मोवाइल एक थान समेत बरामद गरिएको छ । शुक्रबार बिहान सब डिभिजन वन कार्यालयका हेरालुले ठूलो संख्यामा शिकारीहरु प्रवेश गरेको भनि दिएको सूचना पाएपछि सशस्त्र प्रहरीको सहयोगमा टोली परिचालन गरिएको माझीले जानकारी दिनुभयो । कोरोना भाइरसको संक्रमणका कारण देश नै लकडाउनमा रहेका बेला सुरक्षाकर्मीहरु लकडाउन कार्यान्वयन गराउन खटिएको अवस्थामा शिकारीहरु सल्वलाउन थालेका हुन् । यसअघि समेत मोरङको उत्तरी क्षेत्रबाट बेलाबेला शिकारीहरु पक्राउ पर्ने गरेका थिए ।

तपाईको प्रतिक्रिया