मोरङ । मोरङको सुन्दरहरैंचामा लकडाउनको समयमा हटिया लागेको छ । स्थानीय गछिया बजारमा लकडाउनको समयमा समेत सँधै लाग्ने साप्ताहिक हटियामा बिहीबार तरकारी बजार लागेको हो । लकडाउनको समयमा व्यक्ति व्यक्तिबीच दुरी कायम गर्नुपर्ने भन्दै बजार पसल सबै बन्द रहेको अवस्थामा गछिया बजारमा भने लकडाउनको उल्लंघन गर्दै तरकारीको हटिया लागेको हो ।
निश्चित पसलबाट सावधानी अपनाएर व्यक्ति व्यक्तिबीच दुरी कायम गर्दै किनमेल गर्नुपर्नेमा गछिया बजारमा सप्ताहिकरुपमा हाट लाग्ने ठाउँमा व्यपारीहरुले तरकारी ल्याएर विक्रि गरेका थिए । यसरी तरकारी बजार लागेपछि किनमेल गर्नेहरुको समेत भीड लागेको थियो । लकडाउनको अवस्थामा हटिया लगाएको थाहापाएपछि सँगै रहेको गछिया प्रहरी चौकीले हटाउन खोज्दा व्यपारीहरुले अटेर गरेका थिए । त्यसपछि सशस्त्र प्रहरी सलकपुरको टोली पुगेर व्यापारीहरुलाई तितर वितर पारेको थियो ।
सशस्त्र प्रहरी बल सलकपुरका प्रहरी निरीक्षक विदुर भट्टराई, गछिया प्रहरी चौकी, सुन्दरदुलारी उद्योग वाणिज्य संघका प्रतिनिधि, सुन्दरहरैंचा ७ का वडाध्यक्ष चैतन्य सिटौला लगायतले हटियामा तरकारी बेचिरहेका व्यापारीहरुलाई हटाएका थिए । सोही समयमा प्रहरीले लकडाउनको उल्लंघन गर्ने केही मोटरसाइकललाई समेत नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया