इटहरीका दिवस पोखरेल ‘सेल्फी किङ’ विजेता बनेका छन्। शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘सेल्फी किङ’ को युनिटले गत माघ ५ देखि ‘हाम्रो सेल्फी किङ कन्टेस्ट’ ल्याएको थियो । कमेडी हाउभाउमा खिचिएको सेल्फीमा आफ्नो तस्बिर पठाउन भनेको थियो।

गत माघ ५ देखि माघ २० सम्म सञ्चालित प्रतियोगिताको विजेताको घोषणा हाम्रो पात्रोमार्फत गरिएको छ। अभिनेता विपिन कार्की र निर्देशक विशाल सापकोटाले विजेता घोषणा गरेका हुन्। पहिलो भएका दिवसले निर्देशक अनुप बरालको एक्टर्स स्टुडियोमा तीनमहिने अभिनय तालिमको छात्रवृत्ति पाएका छन्। दिवससँगै अन्य १० प्रतियोगीले प्रिमियरको १० पास जितेका छन्।

‘सेल्फी किङ’ चलचित्रको निर्देशन तथा कथा विशाल सापकोटाको रहेको छ। दिनेश राउत र सुवास थापाले चलचित्रलाई संयुक्त रूपमा निर्माण गरेका हुन्। चलचित्रमा विपिन टेलिभिजनमा कार्यरत एक प्रसिद्ध हास्यकलाकारको भूमिकामा छन्।

विपिनसँगै चलचित्रमा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराललगायतका कलाकारको अभिनय रहेको छ।

तपाईको प्रतिक्रिया